मुस्ताङ । पछिल्लो २४ घण्टामा मुस्ताङको लोमान्थाङमा सात पटक भूकम्पको धक्का महसुस भएको छ। पटक–पटक भूकम्प आएपछि उत्तरी मुस्ताङको लोमान्थाङका स्थानीय त्रसित भएका छन्।
निरन्तरको भूकम्पका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङमा ठूलो भौतिक क्षति पुगेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिए।
सदियौँ पुराना माटोका संरचनाले भरिएको लोमान्थाङका अधिकांश घरमा चिरा परेको र बस्नै नमिल्ने अवस्था सिर्जना भएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाभित्रका करिब सबैजसो घरमा भूकम्पको असर परेको छ भने ५० प्रतिशतभन्दा बढी घर उच्च जोखिममा छन्।
‘पुराना र नयाँ केही नभनी भूकम्पले क्षति गरेको छ। धेरैजसो घरहरू चिरिएका छन्,’ अध्यक्ष गुरुङले भने, ‘अलिकति ठूलो भूकम्प गयो भने सबै गर्ल्यामगुर्लुम ढल्ने अवस्था छ।’
उनका अनुसार करिब २० देखि ३० प्रतिशत घर पूर्ण रूपमा बस्न अयोग्य भएका छन् भने करिब ५० प्रतिशत घरमा उल्लेख्य क्षति पुगेको प्रारम्भिक अनुमान छ। भूकम्पबाट मानवीय तथा पशु चौपायाको क्षति भने नभएको उनले बताए।
क्षतिको यकिन विवरण सङ्कलन गर्न प्राविधिक, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली फिल्डमा खटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले जानकारी दिए।
‘जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र सुरक्षा टोली वडा–वडामा पुगेर मुचुल्का उठाउने र क्षतिको अवलोकन गर्ने काम सुरु गरिसकिएको छ,’ उनले भने।
माटोबाट बनेका परम्परागत तथा ऐतिहासिक संरचना धेरै रहेकाले थप पराकम्पन आएमा बाँकी घरहरू समेत भत्किन सक्ने जोखिम रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले क्षतिको वास्तविक विवरण सङ्कलन भइरहेको र घटनाबारे जिल्ला प्रशासन कार्यालय तथा सङ्घ र प्रदेश सरकारलाई समेत जानकारी गराइसकेको जनाएको छ।
