काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन्।
पार्कमा निर्माण गरिएका शहीदका सालिक आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको अनुहारसँग नमिलेको भन्दै शहीद परिवारले असन्तुष्टि जनाएपछि गृहमन्त्री गुरुङ सालिक अनावरण नगरी फर्किएका हुन्।
शहीद परिवारका एक सदस्यले निर्माण गरिएका सालिक शहीदहरूको वास्तविक अनुहारसँग मेल नखाने र सालिक निर्माणमा लापरबाही गरिएको आरोप लगाए।
‘निर्माण गरिएका सालिकसँग आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल खाँदैन। सालिक बनाउन लापरबाही गरिएको छ,’ उनले भने।
पौडी पोखरी परिसरको करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको सालिक निर्माण गरिएको छ।
सरकारका अनुसार पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी निर्माण गरिएको हो। सालिकको स्वरूप र पहिचानबारे विवाद भएपछि उद्घाटन कार्यक्रम प्रभावित भएको हो।
