काठमाडौँ । ग्यास अभाव र कालोबजारीमा उद्यमी व्यवसायीको बदमासी प्रमुख कारण रहेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटेर राजीनामा बुझाएकी हुन् । उनको सचिवालयले भने राजीनामाको कारण व्यक्तिगत रहेको जनाएको छ ।
बुधबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले ग्यास अभाव हुनुमा उद्यमी व्यवसायीको बदमासी प्रमुख कारण रहेको बताएकी थिइन् । उनले मन्त्रालयका कर्मचारीले समेत आफूलाई असहयोग गरेको र उद्योगीको प्रभावमा काम गर्ने गरेको आरोप लगाएकी थिइन् ।
मन्त्री यादवले नेपालमा ५८ वटा ग्यास उद्योग रहेको उल्लेख गर्दै यति धेरै उद्योग आवश्यक नरहेको धारणा राखेकी थिइन् ।
‘हाम्रो जस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन,’ उनले समितिमा भनेकी थिइन्, ‘तर त्यो उद्योगीहरूलाई पाता नफर्काएसम्म यो ग्यास सहज हुँदैन भन्ने मेरो अन्तिम विश्लेषण हो ।’
उनले उद्योगीहरूलाई कर्मचारीले करोडौँ रुपैयाँ लिएर उद्योग सञ्चालनको लाइसेन्स दिएको हुनसक्ने आरोपसमेत लगाएकी थिइन् ।
‘उद्योगीहरू पनि त्यो करोडौँ त उठाउनुपर्यो नि ! उनीहरू उठाइरहेका छन्,’ उनको भनाइ थियो ।
समितिमा आफूले बोलेका विषयले आफूलाई आलोचनामा पार्न सक्ने थाहा हुँदाहुँदै पनि देशको हितका लागि आफूले कुरा उठाएको उनको दाबी थियो ।
‘मलाई एकदमै नराम्रो बनाउला, आज म यो विषयमा यति अगाडिसम्म बढेर बोल्दा । तर देशका लागि गर्ने हो भने यो हामीले बुझ्नैपर्ने कुरा हो,’ उनले भनेकी थिइन् ।
मन्त्री यादवको अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, ग्यास उद्योगी तथा व्यवसायीहरूले आपत्ति जनाएका थिए ।
पछिल्लो समय नियमित आपूर्ति हुँदाहुँदै पनि बजारमा ग्यास अभाव देखिँदै आएको थियो । कृष्णभीरमा पहिरो गएपछि ग्यास आयातसमेत प्रभावित भएको थियो । रसुवामा आएको बाढीबाट भएको विपत्तिका बीच बजारमा ग्यासको अभाव भएपछि सरकारमाथि समेत चर्को आलोचना हुँदै आएको थियो ।
यादव गत चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेकी थिइन् । यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँग सम्बन्धित सूचना चुहाएको आरोपलगायतका विषयमा समेत उनी विवादमा आएकी थिइन् ।
करिब पाँच महिनाको कार्यकालपछि ग्यास आपूर्ति र मन्त्रालय सञ्चालनसम्बन्धी विवादबीच मन्त्री यादवले राजीनामा दिएकी हुन् ।
