• Thursday 8th of October 2026

प्रचण्डले धोका दिएजस्तै कोशीका मुख्यमन्त्री कार्कीले पनि धोका दिनसक्ने एमालेको आशंका


  • धनकुटा खबर
  • .

काठमाडौं, २ कात्तिक । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले कोशीका मुख्यमन्त्री केदार कार्कीले पार्टीलाई धोका दिनसक्ने आशंका व्यक्त गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय सरकारमा धोका दिएजस्तै कोशीका मुख्यमन्त्री कार्कीले धोका दिनसक्ने आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले एमालेलाई धोका दिँदा अहिले देश डुबेको टिप्पणी गर्दै उनले कोशीमा मुख्यमन्त्री कार्कीले धोका दिने काम गरेमा कोशी डुब्ने उनको भनाई छ ।

‘प्रचण्डजीले धोका दिएजस्तै केदार कार्कीले धोका दिनुहुन्छ, त्यो केदार कार्कीमाथि निर्भर गर्छ । उहाँको जुन ग्रुप छ, त्यो माथि निर्भर गर्छ, हामीमाथि होईन । हामीले विनास्वार्थ उहाँलाई समर्थन गरेका छौं ।’ उनले भने, ‘यदि केदार कार्कीले हामीलाई धोका दिनुभयो भने जुन अहिले प्रचण्डको कारणले देश डुबेको छ, केदार कार्कीजीको कारणले कोशी डुब्छ ।’

नेपालको इतिहासमा अहिलेको जस्तो खराबस्थिति कहिल्य नभएको उनले बताए । राजनीतिक र आर्थिक दृष्टिकोणले राम्रो बनाउनका लागि एमालेले मुख्यमन्त्री कार्कीलाई विनास्वार्थ विश्वासको मत दिएको उनले दाबी गरे ।

‘नेपालको इतिहासमा अहिले जत्तिको खराब स्थिति कहिल्यै पनि थिएन । त्यो स्थितिलाई राम्रो बनाउन, चाहे त्यो राजनीतिक दृष्टिकोणले होस्, चाहे त्यो आर्थिक दृष्टिकोणले होस्, हामीले मुख्यमन्त्री माननीय केदार कार्कीलाई हामीले समर्थन गरेका छौं,’– उनले भने ।

आफूहरुले मुख्यमन्त्री कार्कीलाई एमालेको हितमा काम होस् भनेर समर्थन नगरेको उनको भनाई छ । देश र जनताको हितमा होस् भनेर एमालेले केदार कार्कीलाई समर्थन गरेको उनको भनाई छ । मुख्यमन्त्री कार्कीले देश र जनताको हितमा काम गर्छन् भन्नेमा एमाले विश्वस्त रहेको उनको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖