काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोपकै आधारमा तीन जना मन्त्री पदमुक्त भइसकेको अवस्थामा प्रहरी प्रमुखमाथि गम्भीर भ्रष्टाचारको आरोप लाग्दा पनि सरकार मौन बसेको भन्दै प्रश्न उठाए।
उनले महानिरीक्षक कार्की, उनकी श्रीमतीलगायत उच्च अधिकारीहरूमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको दाबी गरे। उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिसम्म उजुरी परेको दाबी गर्दै सुनारले तल्लो तहका प्रहरी कर्मचारीका जुत्ता–मोजासमेत हिनामिना गरेको आरोपसमेत लगाइएको बताए।
‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्त भइसक्नुभएको छ। तर अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनकी श्रीमती लगायतका उच्च अधिकारीहरूमाथि करोडौँ भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ,’ उनले भने।
सरकारले महानिरीक्षक कार्कीलाई बर्खास्त नगरेको र उनीमाथि छानबिन प्रक्रिया अघि नबढाएको भन्दै सुनारले यसको कारण संसद्मा स्पष्ट पार्न माग गरे।
‘सरकारले उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइराखिएको छ?’ उनले प्रश्न गरे।
सुनारले प्रहरी प्रमुखमाथि लागेको आरोप गम्भीर विषय भएकाले सरकारले तत्काल आवश्यक छानबिन प्रक्रिया अघि बढाउनुपर्ने बताए।
