काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर खाना पकाउने एलपी ग्यास बरामद गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो।
ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक ३८ वर्षीय दिनेश लुइँटेललाई पक्राउ गरेको छ। मोरङको ग्रामथान गाउँपालिका–२ घर भएका लुइँटेलले बसुन्धारामा ग्यास स्टोर सञ्चालन गर्दै आएका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार लुइँटेलले एउटा सिलिन्डर २ हजार ७५० रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ। बरामद सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन्।
प्रहरीका अनुसार आरोपीले नयाँ सिलिन्डरसमेत ५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको खुलेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
