काठमाडौँ। सिंगापुरका एक व्यवसायीले प्रेमसम्बन्धमा रहँदा पूर्वप्रेमिकालाई उपचार किन्न खर्च गरेको झन्डै ३ लाख ६९ हजार अमेरिकी डलर बराबरको रकम फिर्ता माग्दै दायर गरेको मुद्दा हारेका छन्।
चान्डर अग्रवालले आफ्नी पूर्व प्रेमिका फेलिसिया लीलाई उपहारहरू दिन ४ लाख ६८ हजार सिंगापुर डलर (झन्डै ३ लाख ६९ हजार २०० अमेरिकी डलर) खर्चेका थिए । उनले स्वेच्छाले खर्च गरेको सिंगापुरको उच्च अदालतले ठहर गरेको छ।
अदालतका वरिष्ठ न्यायाधीश ली सिउ किनका अनुसार सम्बन्धमा बस्नुअघि देखि नै अग्रवालले लीलाई महँगा उपहार दिने गरेका थिए । सम्बन्धमा रहँदा पनि उनले लीलाई महँगा उपहार दिन जारी राखे । त्यतिबेला अग्रवालले लिलाई बारम्बार आफूले खर्चिएकाे रकम फिर्ता हुने अपेक्षा नगरेको भन्दै आश्वस्त पार्ने गरेका थिए।
लजिस्टिक्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अग्रवालले पूर्वफ्लाइट अटेन्डेन्ट लीलाई सन् २०१९ मा एउटा उडानका क्रममा भेटेका थिए।
अदालतमा प्रस्तुत विवरणअनुसार उनीहरूबिच सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को डिसेम्बरसम्म प्रेमसम्बन्ध थियो। अग्रवालले लीले आफूलाई धोका दिएको आशङ्का गरेपछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो ।
सम्बन्ध टुटेपछि अग्रवालले मार्च २०२४ मा मुद्दा दायर गर्दै लीले सम्बन्धका क्रममा आफूबाट कयौँ पटक ब्याजरहित ऋण मागेको दाबी गरे।
उनका अनुसार लीका लागि गरिएको खर्चमा २ लाख ६ हजार सिंगापुर डलरको क्रेडिट कार्ड खर्च, विदेश भ्रमणका लागि १ लाख २९ हजार डलर, उनको अपार्टमेन्टका लागि फेङ सुई विशेषज्ञ नियुक्त गर्न १७ हजार डलर र जीवन बिमाको प्रिमियम तिर्न २० हजार डलर समावेश थिए।
तर लीले ती सबै रकम ऋण नभई आफूहरूबिचको प्रेम र स्नेहका कारण दिइएका उपहार भएको तर्क गरेकी थिइन् । लीको तर्कसँग सहमत हुँदै न्यायाधीशले अग्रवालको दाबी पुष्टि गर्ने पर्याप्त लिखित प्रमाण नभएको बताए। लीले कथित रूपमा मागेका ऋण प्राप्त गरेको स्वीकार गरेको कुनै प्रमाण अग्रवालले अदालतमा प्रस्तुत गर्न नसकेको उदाहरण उनले उल्लेख गरेका थिए।
‘अदालतसामु रहेको प्रमाणले स्पष्ट रूपमा देखाउँछ कि प्रतिवादीप्रति आकर्षित भएका वादीले उनीहरूको सम्बन्धका क्रममा उनलाई महँगा उपहार दिएका थिए,’ न्यायाधीशले भने।
सम्बन्ध खराब रूपमा अन्त्य भएपछि अग्रवाल लिप्रति आक्रोशित बने अनि पहिला खर्चेको पैसा तिराउन लागि गरेको पनि न्यायाधीशले बताए । अग्रवाल पर्याप्त आर्थिक हैसियत भएका र महँगा वस्तुमा रुचि राख्ने व्यक्ति भएको उल्लेख गर्दै ली त्यस्तो आर्थिक हैसियतको अवस्थामा नरहेको पनि न्यायाधीशले बताए।
अदालतका अनुसार धेरै वटा टेक्स्ट म्यासेजमा अग्रवालले महँगा उपहार दिने प्रस्ताव गर्दा लीले अचम्मित भएको प्रतिक्रिया दिएकी थिइन् । कतिपय अवस्थामा उनले ती उपहार स्वीकार गर्न तत्कालै अनिच्छासमेत देखाएकी थिइन् । आफ्नो लिखित फैसलाको अन्त्यमा न्यायाधीशले अंग्रेजी नाटककार विलियम कङ्ग्रिभको व्यंग्यात्मक दुःखान्त नाटक ‘द मर्निङ ब्राइड’को चर्चित भनाइ उद्धृत गरेका थिए।
उक्त भनाइमा प्रेम घृणामा परिणत हुँदा उत्पन्न हुने क्रोध र अपमानित महिलाको आक्रोशबारे उल्लेख गरिएको छ । त्यसलाई उद्धृत गर्दै न्यायाधीशले भने, ‘यस मुद्दाले यस्तो भावना कुनै एक लिङ्गको मात्र विशेषता होइन भन्ने देखाउँछ,’।
सिंगापुरमा प्रेमसम्बन्ध र खर्चसँग जोडिएको यो पहिलो यस्तै चर्चित मुद्दा भने होइन । सन् २०२३ को सुरुवातमा अर्का एक सिंगापुरेली पुरुषले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेकी एक महिलाविरुद्ध ३० लाख सिंगापुर डलरभन्दा बढी क्षतिपूर्तिको माग गर्दै दुई वटा मुद्दा दायर गरेका थिए।
