• Monday 5th of October 2026

१४औँ महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेट्छौँ : भण्डारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले १४ औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर १५औँ महाधिवेशनमा जाने बताएका छन् । कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै अन्तिमसम्म सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको उनले बताएका हुन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकका क्रममा उनले आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधरतालाई आधार नबनाई १४औँ महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई समेटिने बताए ।

भण्डारीले कांग्रेस कुनै व्यक्तिको नभई विचार, इतिहास र संगठनमा आधारित पार्टी भएको बताए । कांग्रेसभित्र कहिलेकाहीँ असन्तुष्टि र विवाद देखिए पनि अन्तिममा पार्टी एक ठाउँमा आउने उनको दाबी छ । उनले कांग्रेसभित्र नेतृत्व हस्तान्तरण स्वाभाविक प्रक्रिया भएको भन्दै पार्टीका कार्यकर्ताले विश्वास गरेपछि वर्तमान सभापति गगनकुमार थापाले पार्टी सञ्चालन गर्ने बताए । तर नेताहरूले लामो समयसम्म पदमै रहिरहने प्रवृत्तिमाथि भने उनले प्रश्न उठाए ।

भण्डारीले राजनीतिक नेतृत्वले आफूले पाएका पद र अवसरको उपयोग जनताको जीवन परिवर्तनमा गर्नुपर्ने बताए । पटक–पटक प्रधानमन्त्री, सभापति वा मन्त्री बने पनि जनताका छोराछोरी रोजगारीका लागि विदेश जानुपर्ने अवस्था कायम रहे त्यसको औचित्यमाथि प्रश्न उठाउनुपर्ने उनको भनाइ छ ।

उनले पछिल्लो राजनीतिक पुस्ताले विगत ३५ वर्षमा केही नभएको भन्ने दाबी गरे पनि त्यस अवधिमा देशमा सडक, विद्युत्, हाइड्रोपावर, खानेपानी, बजार तथा सुरुङमार्ग लगायतका पूर्वाधार निर्माण भएको बताए । रसुवाको बाढीबाट भएको ठुलो क्षतिको प्रसङ्ग उल्लेख गर्दै उनले बाढीमा क्षति पुगेका धेरै हाइड्रोपावर तथा पूर्वाधार पनि पछिल्ला दशकमा निर्माण भएका भएको बताए ।

भण्डारीले नेपालमा अब नेतृत्व र राजनीतिक दलले आफू केन्द्रित सोच त्यागेर ‘मबाट हामी र हामीबाट हाम्रो’ बनाउने दिशामा अघि बढ्नुपर्ने बताए । विगतका राजनीतिक आन्दोलनले लोकतन्त्रका लागि ठुलो त्याग गरेको भए पनि सत्तामा पुगेपछि राजनीति व्यक्ति र परिवार केन्द्रित भएको उनको टिप्पणी छ ।

उनले २१ औँ शताब्दीका नागरिकको बदलिँदो अपेक्षा बुझेर राजनीतिक दलले आफूलाई सुधार, कार्यसम्पादन र रूपान्तरण गर्नुपर्ने बताए । नयाँ पुस्ताको असन्तुष्टि र पछिल्ला विद्रोहले राजनीतिक दललाई परिवर्तन मात्र होइन, सम्भावित थप अराजकतालाई नियन्त्रण गर्ने जिम्मेवारीसमेत दिएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖