पोखरा । पोखरा बसपार्क क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्ने तयारी थालिएको छ। पोखरा महानगरपालिकाले उनीहरूलाई महानगरभित्र पहिचान गरिएका १८ स्थानमा व्यवस्थापन गर्ने तयारी गरेको हो।
जग्गा खोजबिन समितिले वडा नम्बर १ देखि ९ बाहेकका विभिन्न वडामा चार रोपनीभन्दा बढी सार्वजनिक तथा पर्ती जग्गा पहिचान गरी महानगरपालिकालाई सिफारिस गरेको छ।
महानगरका अनुसार बसपार्क क्षेत्रमा भूमिहीन दलित तथा सुकुमबासी २८६ परिवार र अव्यवस्थित बसोबासी २३३ परिवार गरी ५१९ परिवार छन्। त्यसमध्ये ५५ परिवारको विवरण दोहोरो वा नमिलेको पाइएको छ।
महानगरका मेयर धनराज आचार्यले प्राविधिक अध्ययनपछि सूचना जारी गरेर बसपार्क क्षेत्र खाली गराउने तयारी भइरहेको बताए। उनका अनुसार बढीमा एक महिनाभित्र बसपार्क क्षेत्र खाली गर्ने योजना छ।
स्थानान्तरण गरिने क्षेत्रमा खानेपानी, बिजुली र सडकजस्ता न्यूनतम पूर्वाधारको व्यवस्था गर्ने महानगरले जनाएको छ। साथै, भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउने विषयमा भूमिसम्बन्धी समस्या समाधान आयोगसँग समन्वय भइरहेको छ।
तर, सुकुमबासी पक्षले भने प्रतिपरिवार चार आनाका दरले जग्गा कित्ताकाट गरी लालपुर्जासहित स्थायी व्यवस्थापनको ग्यारेन्टी नभएसम्म बसपार्क क्षेत्र खाली नगर्ने अडान राखेको छ। स्थानान्तरणअघि प्रस्तावित क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने उनीहरूको माग छ।
महानगरले छनोट गरेका जग्गाको प्राविधिक मापदण्ड र बस्ती विकासको सम्भाव्यताबारे अध्ययन गर्न प्राविधिक समिति गठन गरेको छ। समितिको प्रतिवेदनपछि स्थानान्तरण प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ।
