• Monday 5th of October 2026

गगन नेतृत्वको कांग्रेसले गरेका निर्णय नमान्ने देउवा समूहको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा नेतृत्वको संस्थापन पक्षले गरेका निर्णय नमान्ने निर्णय गरेको छ।

सोमबार देउवा निवास चुनदेवीमा बसेको समूहको बैठकले विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई अवैधानिक भन्दै त्यसबाट भएका निर्णय स्वीकार नगर्ने निर्णय गरेको नेता दीपक खड्काले जानकारी दिए।

देउवा समूहले संस्थापनले असोज १६ देखि १९ गतेसम्म गर्ने १५औँ महाधिवेशनमा सहभागी नहुने र १४औँ महाधिवेशनबाट आएको समितिले तय गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

संस्थापन पक्षको कार्यसम्पादन समितिले आइतबार १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई १५औँ महाधिवेशनमा सोही हैसियतमा सहभागी गराउने निर्णय गरेको थियो। देउवा समूहले भने विशेष महाधिवेशनको वैधानिकतामै प्रश्न उठाउँदै उक्त निर्णय अस्वीकार गरेको हो।

बैठकले निर्वाचन, अनुशासन र क्रियाशील सदस्यता व्यवस्थापन समितिलगायत महाधिवेशनका लागि आवश्यक समितिलाई पूर्णता दिने निर्णयसमेत गरेको छ।

विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पुनरवलोकनको प्रक्रिया चलिरहेको भन्दै त्यसको फैसला नआएसम्म आफ्नो गतिविधि अघि बढाउने देउवा समूहले जनाएको छ।

बैठकका निर्णयबारे जानकारी दिन देउवा समूहले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्ने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖