• Monday 5th of October 2026

सुनसरी र सिरहा घटना : दुई सीडीओ सहित ८ अधिकारीलाई कारबाही सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहाको गोलबजारमा भएका झडपबारे छानबिन गर्न गठित दुई समितिले प्रतिवेदन बुझाएको करिब एक महिना बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन।

दुवै समितिले भदौ २ गते गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन अहिलेसम्म सार्वजनिकसमेत गरिएको छैन। गृह मन्त्रालयका अधिकारीहरूले प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताएका छन्।

कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीचको विवादपछि भएको झडपमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताको मृत्यु भएको थियो। छानबिन समितिले उनीहरूको मृत्यु सुरक्षाकर्मीले चलाएको गोली लागेर भएको निष्कर्ष निकालेको छ।

कप्तानगञ्ज घटनाबारे सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन गरेको थियो। समितिले घटनामा सुरक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन इन्स्पेक्टर राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

छानबिनका क्रममा कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी कुल २० राउण्ड गोली चलाएको भेटिएको छ। इन्स्पेक्टर राईले गोली चलाएपछि सशस्त्र प्रहरीका सुरक्षाकर्मीले समेत गोली चलाएको र त्यसबाट मानवीय क्षति भएको समितिको निष्कर्ष छ।

यस्तै, साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। घटनाबारे गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो।

समितिले गणेशको मृत्यु प्रहरीले चलाएको गोली लागेर भएको निष्कर्ष निकालेको छ। गोलबजारमा सशस्त्र प्रहरीले गोली नचलाएको र प्रहरीले ७ राउण्ड हवाई फायर तथा २ राउण्ड गोली प्रदर्शनकारीतर्फ चलाएको प्रतिवेदनमा उल्लेख छ।

गोलबजार घटनामा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी बासु पाठक, डीएसपी रमेश पाल र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुमन नेपालीलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ। पौडेललाई घटनापछि नै सरुवा गरिएको थियो।

दुवै घटनाका सम्बन्धमा गठित समितिले कारबाहीको प्रकृति भने तोकेको छैन। गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा कमान्डरलाई विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको हो।

छानबिन समितिले दुवै घटनामा प्रदर्शनकारी वा अन्य व्यक्तिबाट गोली चलेको पुष्टि नभएको समेत निष्कर्ष निकालेको छ। घटनाका क्रममा सुरक्षाकर्मीबाहेक अन्यत्रबाट गोली चलेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

दुवै घटनामा मृत्यु भएका व्यक्तिलाई सरकारले सहिद घोषणा गरिसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖