• Sunday 4th of October 2026

रास्वपा महामन्त्री आचार्यको अभिव्यक्तिप्रति जेनजी अभियन्ताकाे आपत्ति, दिए यस्ताे चेतावनी !


  • धनकुटा खबर
  • .

काठमाडौं । जेनजी अभियन्ता अर्जुनबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शाहीले आफूहरूले कसैलाई घिसार्ने वा धम्की दिने कुरा नगरेको स्पष्ट पारे।

यसअघि बिहीबार प्रतिनिधिसभाको बैठकमा आचार्यले फरक धारणा राखेकै आधारमा सांसदहरूलाई धम्की दिने तथा दबाब दिने गतिविधि स्वीकार्य नहुने बताएका थिए। उनले सांसदहरूलाई सार्वजनिक रूपमा लतार्ने, घिसार्ने, घर जलाउने तथा रक्तपात गर्ने धम्की आएको भन्दै त्यस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताएका थिए।

आचार्यको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै शाहीले आफूहरूले कसैलाई घिसार्ने कुरा नगरेको बताए। उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारले अझै न्याय नपाएको तथा आन्दोलनमा घाइते भएकाहरूको उपचारसमेत सरकारले नगरेको दाबी गरे।

सरकारले घाइतेहरूको उपचार गराएको भए त्यसको प्रमाण प्रस्तुत गर्नसमेत उनले चुनौती दिए।

‘हामीले मागेको भनेको छातीमा गोली थापेर शहीद भएकाहरूलाई न्याय दिनुपर्‍यो, सम्मान गर्नुपर्‍यो,’ शाहीले भने।

सरकार गठन भएको करिब छ महिना पुगिसक्दा पनि जेनजी आन्दोलनको भावना र मागअनुसार काम हुन नसकेको उनको भनाइ थियो।

यसअघि रास्वपा सांसद क्रान्तिशिखा धितालले भदौ २३ गते पुरानो संसद् भवन परिसरमा आयोजित ‘जेनजी शहीद प्रथम स्मृति दिवस’ कार्यक्रमबारे सार्वजनिक टिप्पणी गरेकी थिइन्। उनले शहीद परिवार र आन्दोलनका घाइतेको पीडा सम्बोधन गर्नुपर्ने समयमा भव्य मञ्च तथा धर्मगुरुको सहभागितासहित कार्यक्रम आयोजना गरिएको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाएकी थिइन्।

धितालको उक्त अभिव्यक्तिलाई लिएर सिंहदरबारको मुख्य गेटअगाडि जेनजी शहीदका परिवारले प्रदर्शन गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖