• Sunday 4th of October 2026

कांग्रेसको १५औँ महाधिवेशन : अधिवेशन गर्न नमान्ने चार जिल्ला सभापतिको जिम्मेवारी खोसियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन प्रक्रिया अघि बढाउन असहमत चार जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी परिवर्तन गरिएको हो ।

निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी हरिचन्द्र रानालाई, मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाहीलाई, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी तारानाथ पौडेललाई दिइएको छ ।

दुलालका अनुसार जिम्मेवारी खोसिए पनि सम्बन्धित नेताहरूको जिल्ला सभापति पद भने कायमै रहनेछ । ‘उहाँहरू सभापति नै रहनुहुन्छ, काम गर्न नसकेकाले बाटो फुकाएका हौँ,’ उनले भने ।

यसैबीच, जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति पदम बोगटीले कांग्रेसको महाधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गर्न आग्रह गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै बोगटीले पार्टीको वैधानिकता, नेतृत्व तथा विशेष महाधिवेशनसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला नआउन्जेल महाधिवेशनका कार्यक्रम अघि नबढाउन आग्रह गरेका छन् ।

अदालतमा विषय विचाराधीन रहेको अवस्थामा एकपक्षीय रूपमा संगठनात्मक गतिविधि अघि बढाउनु उचित नहुने उनको जिकिर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖