• Sunday 4th of October 2026

प्रधानमन्त्री अमेरिका उड्नुअघि भेट्न पुगे कांग्रेस नेता, के भयो कुराकानी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा कांग्रेस नेताहरूले भोटेकोशी विपद्, जलवायु परिवर्तनका असर तथा हिमाली राष्ट्रहरूले भोगिरहेका समस्यालाई संयुक्त राष्ट्रसंघको महासभामा प्राथमिकताका साथ उठाउन प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले असोज ८ गते महासभामा सम्बोधन गर्ने तय भएको छ।

सोमबार भएको भेटमा कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनका सन्दर्भमा तयार पारेको अवधारणा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।

भेटवार्तामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेसहित कांग्रेस नेताहरू सहभागी थिए। महासभामा नेपालले उठाउनुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा समेत छलफल भएको बताइएको छ।

शर्माका अनुसार भोटेकोशीमा आएको विनाशकारी विपद्लाई अन्तर्राष्ट्रियकरण गर्दै विश्व समुदायको ध्यान नेपालतर्फ आकर्षित गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ। विपद् र जलवायु संकटलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक बुझ्ने गरी तथ्य र प्रमाणसहित विषय प्रस्तुत गर्न सुझाव दिइएको उनले बताए।

कांग्रेस नेताहरूले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि नेपालले जलवायुजन्य विपद्को ठूलो असर भोगिरहेको विषय संयुक्त राष्ट्रसंघको मञ्चमा उठाउन आग्रह गरेका छन्।

त्यस्तै, हिमाली क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्दै ‘विश्व जोगाउन पहिला हिमाल जोगाउनुपर्छ’ भन्ने धारणा प्रस्तुत गर्नुपर्नेमा जोड दिइएको छ। सन् २०१५ को पेरिस सम्झौताको कार्यान्वयन तथा जलवायुजन्य क्षति र नोक्सानीसम्बन्धी विषयमा समेत अन्तर्राष्ट्रिय संवाद अघि बढाउन सुझाव दिइएको छ।

कांग्रेस नेताहरूले भोटेकोशी विपद्मा ज्यान गुमाएका नागरिक, बेपत्ता भएका व्यक्तिका परिवार तथा पहिचानका लागि डीएनए परीक्षणको प्रतीक्षामा रहेका परिवारले भोगिरहेको मानवीय पीडालाई समेत विश्वमञ्चमा प्रस्तुत गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीको महासभा सम्बोधनसँगै साइडलाइन वार्ता, द्विपक्षीय भेटघाट र कूटनीतिक संवादमार्फत नेपालका जलवायु तथा विपद्सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्ने धारणा कांग्रेस नेताहरूले राखेका छन्।

प्रधानमन्त्री शाहको महासभा भ्रमणमा जलवायु परिवर्तन, भोटेकोशी विपद् र हिमाली क्षेत्रमा परेको असरलाई प्राथमिकतामा राख्ने तयारी यसअघि पनि सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖