काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पार्टीको वर्तमान अवस्था, नेतृत्व र पुनर्गठनबारे फरक धारणा राखेका छन्।
बैठकको दोस्रो दिन विशेष समय लिएर बोलेका पौडेलले पार्टी नेतृत्वको आलोचना गरेर मात्र संगठन एकताबद्ध हुन नसक्ने धारणा राखेका थिए। उनले कार्यदलले लामो छलफल र मेहनतपछि तयार गरेको प्रतिवेदनमा पक्ष–विपक्ष देखिनु उचित नभएको बताएका थिए।
‘कार्यदल गठनमै सुरुमा धेरै विमति थियो, तर प्रतिवेदन तयार गर्ने बेलामा धेरै कुरामा सहमति बन्यो। तर प्रतिवेदन बनेपछि पक्ष–विपक्ष देखियो, त्यो राम्रो होइन’, पौडेलले बैठकमा भनेका थिए।
महासचिव पोखरेलले भने पार्टीले आफ्ना कमजोरी स्वीकार गरेर व्यवहारमै सुधार देखाउनुपर्नेमा जोड दिएका थिए। उनले जनताले स्वीकार गर्ने अवस्था नआएसम्म नेताहरूबीचको एकताले मात्रै अर्थ नराख्ने धारणा राखे।
‘हामी जति मिले पनि जनताले स्वीकार्ने अवस्थामा रूपान्तरण गर्न सकिएन भने त्यसको औचित्य रहँदैन’, पोखरेलले बैठकमा भनेका थिए।
पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा आफूले राखेको विमतिलाई गलत रूपमा बुझिएको बताएका थिए। प्रतिवेदनको १७ नम्बर बुँदामा आफूले विमति राख्दैमा अध्यक्ष हट्नुपर्ने धारणा आफूले नराखेको उनको भनाइ थियो।
उनले राजनीतिक, वैचारिक, सांगठनिक तथा नेतृत्वको कार्यशैलीमा स्पष्टता आवश्यक रहेको बताउँदै सिद्धान्तसँगै व्यवहार पनि मिल्नुपर्ने धारणा राखे।
त्यस्तै, पोखरेलले कार्यदलले तयार गरेको प्रतिवेदनलाई पार्टीको सम्पत्तिका रूपमा लिएर क्रमशः कार्यान्वयन गर्नुपर्ने बताए। उनले आफू व्यक्तिगत रूपमा अध्यक्ष ओलीमाथि अभियोग वा आक्षेप लगाउने पक्षमा नरहेको पनि स्पष्ट पारे।
उता, पौडेलले नेतृत्वको बचाउ गर्दै आलोचनाबाट मात्रै पार्टी एकताबद्ध हुन नसक्ने धारणा राखेका थिए।
रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले थापा, महासचिव पोखरेल र नेता प्रदीप ज्ञवालीका मस्यौदा प्रतिवेदनसमेत समेटेर २९ पृष्ठको प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदनमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको विषय समेटिएको थिएन।
तर पोखरेलले तयार गरेको मस्यौदामा एमाले नेता–कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा पार्टी पुनर्गठन गर्न नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने विषय समेटिएको थियो।
