काठमाडौं । बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पछिल्लो ६ घण्टामा करिब १२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमतर्फ अघि बढेको छ।
भारतीय मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान ५ः३० बजे उक्त प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्रमा अवस्थित थियो।
उक्त मौसम प्रणाली बुधबार रातिसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटबीच पर्ने कलिङ्गपट्टनम नजिकबाट स्थलतर्फ प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ।
‘डीप डिप्रेसन’ समुद्रमा विकसित हुने न्यून वायुमण्डलीय चापको शक्तिशाली प्रणाली हो। यसले तीव्र हावा र भारी वर्षा गराउन सक्छ।
यसैबीच भारतको मध्य प्रदेशका छिन्दवाडा, सिवनी र बालाघाटमा बुधबार भारी वर्षाको चेतावनी जारी गरिएको छ। बिहारका सबै ३८ जिल्लामा वर्षाको सम्भावनालाई मध्यनजर गर्दै पहेँलो सतर्कता जारी गरिएको छ।
अर्कोतर्फ राजस्थानमा भने वर्षा रोकिएसँगै गर्मी बढेको छ। जेसलमेरमा ४१ डिग्री सेल्सियस तथा बीकानेर र बाडमेरमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ।
मौसम विभागका अनुसार राजस्थानमा आगामी चारदेखि पाँच दिनसम्म मौसम मुख्यतः सुक्खा रहने र तापक्रम अझै बढ्न सक्ने सम्भावना छ।
