काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले राजनीतिमा आएपछि आफूले सबैभन्दा बढी सरुवा–बढुवाको दबाब महसुस गर्ने गरेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै आचार्यले सुशासन र पारदर्शिताको कुरा गर्ने आफन्त तथा इष्टमित्रबाटै सरुवा–बढुवाका लागि दबाब आउने गरेको बताए।
उनले कतिपयले आफूलाई ‘यति जाबो सरुवा गराउन नसक्ने भए के नेता ?’ भन्दै घुर्कीसमेत लगाउने गरेको बताए।
आचार्यले सरुवा–बढुवामा भनसुन र नातावादको संस्कृति अन्त्य गर्न आफूले सबैलाई विधि र प्रक्रियाअनुसार मात्रै काम हुने बताउने गरेको उल्लेख गरे।
रास्वपाको वाचापत्रको बुँदा नम्बर ८ स्मरण गराउँदै उनले सरकारले चाँडै ‘स्वायत्त सरुवा बोर्ड’मार्फत पूर्वानुमानयोग्य र विधिमा आधारित सरुवा प्रणाली लागू गर्नुपर्ने बताए।
सरुवा बोर्ड तत्काल गठन गर्न सरकारसँग आग्रह गर्दै आचार्यले दसैँमा आफ्नै इष्टमित्रबाट सरुवा गराइदिन नसकेको भन्दै गाली खानुपर्ने अवस्था आउन सक्ने भन्दै व्यङ्ग्यसमेत गरे।
उनले भने, “सरकारलाई यो बोर्ड चाँडै गठन गर्न आग्रह छ। होइन भने यो पटकको दसैँमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वाद नपाइएला भन्ने पिर छ। आशीर्वादको साटो उल्टै यसले हाम्रो कामै गरिदिएन भनेर सराप पो पाइने हो कि ! त्यसैले मलाई यो सरापबाट बचाउनु पर्यो सरकार।”
