काठमाडौं । देशका धेरै ठाउँमा निरन्तर वर्षा भइरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावले बुधबार बेलुकादेखि वर्षा भइरहेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा हुने सम्भावना छ भने सोमबारदेखि वर्षा क्रमशः कम हुँदै जानेछ।
लगातारको वर्षाका कारण भक्तपुरको हनुमन्ते, काभ्रेको रोशी तथा इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढेको छ। हनुमन्ते र रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेपछि नदी तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा निकै ठूलो वर्षाको सम्भावना रहेको छ।
यस्तै मधेश प्रदेशका केही स्थानमा पनि मुसलधारे वर्षा तथा तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्नेछ।
लगातारको वर्षासँगै नदीमा बाढी, पहाडी क्षेत्रमा पहिरो तथा लेदो बग्ने जोखिम रहेकाले आज र भोलि विशेष सावधानी अपनाउन, नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा लामो दूरीको यात्रा सकेसम्म नगर्न मौसमविद्ले आग्रह गरेका छन्।
