• Sunday 4th of October 2026

पश्चिमी नेपालमा भारी वर्षा, बाढी–पहिरोको जोखिम उच्च


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालको पश्चिमी भूभागमा भारीदेखि धेरै भारी वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। पाल्पाको अर्चलेमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

महाशाखाका अनुसार १५० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ। कोशीको सोलुखुम्बु तथा बागमतीका काभ्रे, सिन्धुपाल्चोक र रसुवाका केही क्षेत्रमा पनि भारी वर्षा भएको छ।

भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय प्रणाली तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पश्चिमी क्षेत्रमा बढी वर्षा भएको मौसमविद् लामिछानेले बताएका छन्।

शनिबार र आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना छ। पश्चिमी क्षेत्रमा सोमबारसम्मै वर्षाको प्रभाव रहने भए पनि त्यसपछि मौसम क्रमशः सुधार हुने पूर्वानुमान छ।

लगातारको वर्षाका कारण पश्चिमी क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पहिरो जाने, डुबान हुने तथा नदी कटानको जोखिम भएका क्षेत्रका बासिन्दालाई पूर्वतयारीमा रहन आग्रह गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖