काठमाडौं । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय तथा डुबान सम्भावित क्षेत्रमा बाढीको उच्च जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह ९ मिटर रहेकामा हाल जलसतह करिब ११ मिटर पुगेको छ। नदीको बहाव अझै बढ्दो क्रममा रहेको र देवघाट बाढी मापन केन्द्रमा आज दिउँसो ११ बजेतिर जलसतह अधिकतम करिब १३ मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
नारायणी नदीको जलसतह आज साँझसम्मै खतराको तहभन्दा माथि रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नारायणीका प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा निकै माथि पुगेको छ। त्यस्तै, सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि रही बढ्दो क्रममा छ। बुढीगण्डकी र त्रिशूली नदीमा पनि बहाव सतर्कता तह नजिक पुगेको जनाइएको छ।
नारायणी नदीमा बहाव उच्च भएपछि चितवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढीको उच्च जोखिम रहेको छ।
ती क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ स्थानान्तरण हुन आग्रह गरिएको छ। साथै, नारायणी नदी तथा यसका सहायक नदीका तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न भनिएको छ।
नदी किनार, पुल, तटबन्ध तथा अन्य जोखिमयुक्त स्थानमा बाढी हेर्न वा फोटो–भिडियो खिच्न भिड नगर्नसमेत आग्रह गरिएको छ।
कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदी तथा तिनका शाखा खोलानाल आसपास आज साँझसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
