मकवानपुर । कुलेखानी जलाशयमा पानीको सतह आज बिहान ५ बजेसम्म १ हजार ५२५ दशमलव ११ मिटर पुगेको छ।
जलाशयको अधिकतम भण्डारण क्षमता १ हजार ५३० मिटर रहेको छ। हाल कुलेखानी जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको बताइएको छ।
निरन्तर वर्षा भइरहेकाले जलाशयमा पानीको सतह हिजो–अस्तिको तुलनामा केही तीव्र गतिमा बढिरहेको छ। पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो साइरन बज्नेछ।
त्यसपछि पानीको सतह क्रमशः बढ्दै गएर तीन पटक साइरन बजेपछि १ हजार ५३० मिटर पुगेको मानिनेछ। त्यस अवस्थामा बाँधको मुख्य ढोका बिस्तारै खोलिने बताइएको छ।
जलाशयमा पानीको सतह निरन्तर बढिरहेको अवस्थामा सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
