• Sunday 4th of October 2026

कांग्रेस महाधिवेशन सार्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन पर सार्ने तयारी भएको छ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याएपछि महाधिवेशनका लागि काठमाडौँ आउनसमेत कठिनाइ हुने भएकाले मिति सार्ने विषयमा कांग्रेसभित्र छलफल सुरु भएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार मंगलबार बिहान बस्ने बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म तय भएको महाधिवेशन सार्ने वा नुसार्ने विषयमा निर्णय गर्नेछ।

चालिसेले प्राकृतिक विपत्तिका कारण महाधिवेशन स्थलसम्म पुग्ने सडक तथा पुलमा क्षति पुगेको र क्षेत्रीय अधिवेशनसमेत गर्न कठिनाइ भइरहेको बताए।

उनले भने, “प्राकृतिक विपत्तिका कारण महाधिवेशन स्थलसम्म आउने सडक–पुलहरू भत्केका छन्। क्षेत्रीय अधिवेशन गर्न कठिनाइ भइरहेको छ। त्यसैले केही दिन पर सार्ने कि भन्ने कुराकानी भइरहेको छ, केही निर्णय भएको छैन।”

महाधिवेशनको मिति सार्दा उत्पन्न हुन सक्ने कानुनी अड्चनबारे समेत अध्ययन गरेर मात्र निर्णय गरिने चालिसेले बताए।

कांग्रेसले सर्वोच्च अदालतमा पार्टीका तर्फबाट धारणा पेस गर्दा असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने उल्लेख गरेको थियो। सर्वोच्च अदालतले समेत आफ्नो फैसलामा सोही विषय उल्लेख गरेकाले महाधिवेशनको मिति परिवर्तन गर्दा कानुनी पक्षबारे छलफल गरेर निर्णय लिनुपर्ने अवस्था रहेको प्रवक्ता चालिसेको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖