काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संघीय संसदीय दलको बैठकमा सरकारको पछिल्लो ६ महिनाको कार्यसम्पादनबारे समीक्षा गर्दै प्रचण्डले सरकार संसद्प्रति पर्याप्त जवाफदेही र पारदर्शी हुन नसकेको धारणा राखेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताएका छन्।
दुलालका अनुसार प्रचण्डले वर्तमान सरकार ठिक ढङ्गले अगाडि नबढेको भन्दै ६ महिनाको कार्यसम्पादनबारे बैठकमा समीक्षा गरेका थिए। उनले प्रधानमन्त्री बालेन संसद्प्रति जवाफदेही नदेखिएको र सरकारको कामकारबाही पारदर्शी नभएको विषय उठाएको दुलालले बताए।
बैठकमा संसद्को प्रभावकारिता, जनसरोकारका विषयमा पार्टीको भूमिका, कानुन निर्माणमा संसदीय समितिको भूमिका तथा आगामी दिनमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे पनि छलफल भएको थियो।
त्यस्तै, संगठन सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे समेत बैठकमा छलफल भएको जनाइएको छ। प्राकृतिक विपत्तिमा राहत, उद्धार तथा पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्माले प्रधानमन्त्री शाहले सत्तापक्षका सांसदहरूलाई समेत बाइपास गरेर अघि बढेको विषयमा छलफल भएको बताएका छन्।
उनका अनुसार वर्तमान सरकारको कार्यशैलीप्रति विपक्षी दलसँगै सत्तापक्षका सांसदहरूमा समेत असन्तुष्टि देखिएको विषय बैठकमा उठेको थियो। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक विवादमा आफ्नो पार्टीको कुनै भूमिका नरहेको उनले स्पष्ट पारे।
प्रचण्डले पछिल्लो समय सार्वजनिक अभिव्यक्ति तथा पार्टीका बैठकहरूमा पनि सरकारको कार्यशैलीबारे आलोचना गर्दै आएका छन्। केही दिनअघि सरकारको ६ महिने कार्यकालबारे प्रतिक्रिया दिँदै उनले सरकारका केही काम सकारात्मक भए पनि समग्रमा सरकार सही दिशामा अघि बढ्न नसकेको बताएका थिए। पछिल्लो समय सरकारको ६ महिनाको कार्यसम्पादनबारे विभिन्न पक्षबाट समीक्षा र आलोचना भइरहेका छन्।
