• Wednesday 7th of October 2026

महेन्द्र सहित सहमहामन्त्रीमा मधेशीतर्फ आठजनाको उम्मेदवारी, पार्टीमा कसको कति योग्दान ?


  • धनकुटा खबर
  • .

सुभाष कायस्थ/जनकपुरधाम, २१ असोज । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री महेन्द्र यादवसहित आठजनाले मधेशी समूहतर्फ उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप साह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्ताकुमारी यादव रहेका छन् ।

प्रतिस्पर्धाले मधेसमा कांग्रेसको पुरानो विरासतदेखि नयाँ राजनीतिक धारसम्मको प्रतिनिधित्वलाई एकै ठाउँमा ल्याएको छ । मधेशी समूहतर्फ पार्टीका पछिल्लो पटकका सदस्यदेखि पदाधिकारीसम्मका अनुभवी तथा नवप्रवेशीहरुसमेतले उम्मेदवारी दिएका छन् ।

महेन्द्र यादव : संगठनको लामो अनुभव

धनुषाका महेन्द्र यादव कांग्रेसको संस्थागत राजनीतिमा लामो समयदेखि सक्रिय नेता हुन् । उनी यसअघि नै सहमहामन्त्री तथा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । १४औँ महाधिवेशनमा मधेसी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका यादव यसपटक सोही पदमा पुनः प्रतिस्पर्धामा उत्रेका छन् ।

देउवा समूहका बलिया र मधेशका स्थापित नेताको रुपमा परिचित विशेष महाधिवेशनमा सहभागी नभएपनि पार्टीभित्र एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्दै गगन थापालाई सभापतिमा स्वीकार गर्दै समूहमा सहभागी भएका थिए । 

यादव तरुण दलका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन् । उनी संविधानसभा तथा व्यवस्थापिका–संसदका सदस्य भइसकेका छन् भने खानेपानी तथा सरसफाइमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

कांग्रेसभित्र लामो समय देउवा पक्षका प्रभावशाली मधेशी नेताका रूपमा रहेका यादवलाई पछिल्लो राजनीतिक परिवर्तनपछि गगन थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । त्यसयता उनले पार्टीभित्र विभाजनभन्दा एकता र साझा नेतृत्वमा जोड दिँदै आएका छन् । पछिल्लो समय मधेशमा कांग्रेसको जनाधार फर्काउने लक्ष्यसहित पुनः सहमहामन्त्रीमै उम्मेदवारी दिएको उनको भनाइ छ ।

अजयकुमार चौरसिया : कांग्रेस–सद्भावना–कांग्रेस

पर्साका अजयकुमार चौरसिया मधेसका पुराना राजनीतिक अनुहार हुन् । उनको राजनीतिक यात्रा कांग्रेसबाट सुरु भए पनि २०४८ सालको निर्वाचनताका टिकट नपाएपछि सद्भावना राजनीतिमा पुगेको र पछि पुनः कांग्रेसमै फर्किएका थिए । त्यसयता उनले महासमिति सदस्यदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका छन् । उनी सांसद र मन्त्रीसमेत भइसकेका छन् । लामो संसदीय तथा संगठनात्मक अनुभव उनको प्रमुख राजनीतिक पूँजी हो  । पछिल्लो समय उनी पनि गगन थापा नेतृत्वको कांग्रेसको मूलधारमा महेन्द्र यादवसँगै सदस्यमा समेटिएका थिए । 

नागिना यादव : नेविसंघबाट महिला नेतृत्वसम्म

महोत्तरीकी नागिना यादवको राजनीतिक सक्रियता विद्यार्थी राजनीतिबाट नै गरेकी हुन् । २०५३ सालमा अध्ययनका क्रममा नेपाल विद्यार्थी संघसँग जोडिएर कांग्रेस राजनीतिमा प्रवेश गरेकी नेतृ हुन् उनी । १४औँ महाधिवेशनबाट मधेशी महिला कोटामा केन्द्रीय सदस्य बनेकी उनी पछिल्लो समय कांग्रेसको केन्द्रीय राजनीतिमा निरन्तर सक्रिय छिन् । उनी पनि थापा नेतृत्वको कार्यसमितिमा सदस्यमा मनोयन भएकी थिइन् । 

किरण यादव : संविधानसभा हुँदै केन्द्रीय राजनीतिमा

महोत्तरीकै अर्का महिला नेतृ किरण यादव पनि उम्मेदवार छिन् । उनको राजनीतिक यात्रा संसदीय राजनीतिसँगै सुरु भएको हो । उनी पहिलो संविधानसभा निर्वाचनपछि संविधानसभा सदस्य बनिन् र दोस्रो संविधानसभामा पनि निर्वाचित भइन् । पछिल्लो महाधिवेशन प्रक्रियामा उनी शेखर कोइराला समूहसँग नजिक रहेकी नेतृका रूपमा पनि चिनिन्थिन् । तर अहिले गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी छिन् ।

अभिषेकप्रताप साह : फोरमबाट कांग्रेससम्म

कपिलवस्तुका अभिषेकप्रताप साहको राजनीतिक यात्रा अन्य उम्मेदवारभन्दा फरक छन् । उनको प्रारम्भिक राजनीतिक सक्रियता तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको विद्यार्थी राजनीतिबाट भएको हो । फोरमको विद्यार्थी संगठनबाट सुरु भएको उनको यात्रा संविधानसभा सदस्य हुँदै राष्ट्रिय राजनीतिसम्म पुगेका साह २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे र त्यसपछि कांग्रेसबाटै संसदीय राजनीतिमा स्थापित छन् । 

रामपल्टन साह : नयाँ पुस्ताको अनुहार

धनुषाका रामपल्टन साह कांग्रेसभित्र नयाँ पुस्ताको राजनीतिक अनुहारका रूपमा अघि बढेका छन् । उनको राजनीतिक यात्रामा स्वर्गीय नेता प्रदीप गिरीको प्रभाव महत्वपूर्ण मानिन्छ । विशेष महाधिवेशनका क्रममा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठन सुधारको बहसमा उनी सक्रिय देखिएका थिए । विशेष महाधिवेशनपछि उनी मधेशी खुलातर्फ केन्द्रीय सदस्य बने । पुराना नेताहरूको तुलनामा छोटो राजनीतिक यात्रामै पदाधिकारीमा दाबी गर्नु उनको महत्वाकांक्षी छलाङका रूपमा हेरिएको छ।

मनिषकुमार मिश्र : लोसपाबाट कांग्रेसमा छिर्दै पदाधिकारीमा दाबी

सर्लाहीका मनिषकुमार मिश्रको कांग्रेस यात्रा भने सबैभन्दा नयाँमध्ये हुन । जेनजी पुस्ताको वकालत गर्दै आएका पछिल्लोपटक प्रतिनिधि सभाको निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट कांग्रेसमा प्रवेश गरेका थिए । हुन त उनले लोसपामा महासचिव सम्हालिसकेका छन् । प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका मिश्रलाई सभापति गगन थापाले पार्टी प्रवेशसँगै केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । यसरी कांग्रेसमा प्रवेश गरेको छोटो समयमै उनी केन्द्रीय सदस्य हुँदै सहमहामन्त्रीमा दाबी गरेका छन् ।

मुक्ताकुमारी यादव : मधेसी महिला प्रतिनिधित्व

धनुषाकै अर्का उम्मेदवार हुन् मुक्ताकुमारी यादव । उनी कांग्रेसमा मधेशी महिला नेतृत्वको रुपमा परिचित छिन् । १४औँ महाधिवेशनबाट मधेशी महिला कोटामा केन्द्रीय सदस्य बनेकी उनी पछिल्लो विशेष महाधिवेशनबाट मधेशी क्लस्टरतर्फ सहमहामन्त्री निर्वाचित भएकी थिइन् ।

मधेशी सहमहामन्त्रीका यी आठ उम्मेदवारलाई राजनीतिक यात्राका आधारमा हेर्दा कांग्रेसको मधेस राजनीतिमा पुस्तान्तरण र राजनीतिक धारको मिश्रण देखिन्छ । यसपटक कांग्रेसले सहमहामन्त्रीको संख्या बढाएर समावेशी क्लस्टरको प्रतिनिधित्व विस्तार गरेको छ ।  

त्यसैले यो निर्वाचन केवल आठ नेताबीचको प्रतिस्पर्धा मात्र नभई कांग्रेसको मधेशमा पुरानो संगठनात्मक विरासत, मधेसी आन्दोलनको पृष्ठभूमि, महिला नेतृत्व, नयाँ पुस्ता र पार्टी प्रवेशमार्फत आएको नयाँ राजनीतिक शक्तिबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖