काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विजयकुमार सरावगीले पार्टी छाडेका छन् । सरावगीले एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका बताए ।
सरावगीले रास्वपाको अनलाइन सदस्यता गएराती लिएको भन्दै आजबाट एमाले नभएको बताए ।
‘एमाले पार्टी छाडियो । रास्वपाको एजेन्डा हेरेर यो पार्टीमा लागेको हुँ’, सरावगीले शुक्रबार रातोपाटीसँग भने ,‘तर सबैले मेयरका लागि पार्टी परिवर्तन गर्यो भनेर प्रचार गरेका छन् त्यस्तो होइन ।’
पार्टीले भविष्यमा केही जिम्मेवारी दिए त्यो स्विकार्ने भन्दै सरावगीले भने, ‘एमालेमा मलाई एक जना विचारी यादवबाहेक अरू मुख्य मानिसहरूले सहयोग गरेनन् ।’
उनले एमालेमा माथिल्लो तहमै समस्या रहेको भन्दै त्यो समाधान हुनेतिर नगएको बताए । ‘कांग्रेस एमाले सुध्रिने देखिँदै देखिएन । यद्यपि म कसैलाई दोष दिन्न’, सरावगीको भनाइ छ । सरावगी व्यापारी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।
