काठमाडौं । जेन्जी अभियन्ता अजय सोडारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी र प्रहरी नेतृत्वमाथि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सोडारीले प्रहरी संगठनमाथि निराधार आरोप लगाउने, अमर्यादित भाषा प्रयोग गर्ने र दबाब सिर्जना गर्ने गतिविधि बन्द गर्न सांसद सुनारलाई आग्रह गरेका छन्।
जनप्रतिनिधिको पदमा रहेर प्रहरी संगठन र नेतृत्वलाई धम्क्याउने तथा मानमर्दन गर्ने कार्य निन्दनीय भएको सोडारीको भनाइ छ। सांसद पद कसैलाई तर्साउने, धम्क्याउने वा शक्ति प्रदर्शन गर्ने माध्यम नभएको उनले बताएका छन्।
प्रहरी प्रमुख वा अन्य अधिकारीबाट कानुनविपरीत काम भएको भए निष्पक्ष अनुसन्धान गरी दोष प्रमाणित भएपछि कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिँदै सोडारीले कानुनी प्रक्रिया पूरा नगरी सार्वजनिक रूपमा आरोप लगाउनु विधिको शासनमाथिकै चुनौती भएको बताएका छन्।
उनले प्रहरी संगठनलाई राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट मुक्त राख्दै व्यावसायिक तथा स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको पनि उल्लेख गरेका छन्।
