• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस नेतृ बिनिता खड्का पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी बिनिता खड्का वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले खड्कालाई शुक्रबार राष्ट्रिय सभागृह नजिकैबाट पक्राउ गरेको हो। उनी खुला महिला समूहबाट केन्द्रीय सदस्य पदकी उम्मेदवार थिइन्।

सीआईबीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक अनुपमशमशेर जबराका अनुसार इजरायलमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाएर ठगी गरेको घटनामा संलग्न रहेको खुलेपछि खड्कालाई पक्राउ गरिएको हो। यस प्रकरणमा प्रहरीले यसअघि चार जनालाई पक्राउ गरिसकेको थियो।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर ठगी गरेको आरोपमा कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए।

प्रहरीको अनुसन्धानअनुसार इजरायलमा हेरचाहसम्बन्धी रोजगारीमा पठाइदिने भन्दै आरोपीहरूले करिब दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ।

दोलखाको कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटीले आफूले सङ्कलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयानमा उल्लेख गरेकी छन्। खड्काले पनि ठगीबाट प्राप्त रकम बाँडफाँट गरेर लिएको खुलेको सीआईबीका प्रवक्ता जबराले बताएका छन्।

चौलागाईंलाई असोज १ गते रामेछापको मन्थलीबाट पक्राउ गरिएको थियो।

नेपाल सरकारले सन् २०२४ मा इजरायलमा कामदार पठाउन परीक्षा सञ्चालन गरेको थियो। त्यस क्रममा गोलाप्रथाबाट दुई हजार ९९ जना छनोट भएका थिए। उक्त प्रक्रियामा छनोट हुन नसकेका १५६ जनालाई इजरायल पठाइदिने आश्वासन दिएर चौलागाईंको समूहले रकम असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖