• Thursday 8th of October 2026

जिडिपीमा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखियो : डा. आरजु राणा


  • धनकुटा खबर
  • .

काठमाडौँ, ३ कात्तिक । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादनमा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताएकी छिन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सवका अवसरमा आज (शुक्रबार) आयोजित समारोहलाई सम्बोधन गर्दै सभापति डा राणाले जलवायु परिवर्तनले नेपालका विविध क्षेत्रमा असर गरेको र नेपालको प्रकृति र जैविक विविधताका क्षेत्रमा यसको प्रत्यक्ष असर देखिएको बताएकी हुन्।

नेपाली कांग्रेसकी नेतृ डा राणाले नेपालको वन वनस्पती, कृषि, प्रकृति, हिमाललगायतका क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरको प्रभाव मुलुकको अर्थ व्यवस्थामा पनि पर्ने देखिएको भन्दै सभापति डा राणाले एसियाली विकास बैंकले समेत गरेको एक अध्ययनले देशको कुल गार्हस्थ उत्पादन दुई दशमलव दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको दृष्टान्त प्रस्तुत गरिन् ।

नेपाल जैविध विविधतामा विश्वमा २७औँ र एसियामा १०औँ स्थानमा रहेको छ । हाल नेपालमा २२ हजारभन्दा बढी वनस्पती र जीवहरु छन् । जुन विश्वमा उपलब्ध जैविक विविधताको एक दशमलव तीन प्रतिशत हिस्सा हो ।

अव्यवस्थित योजना निर्माण, विकास आयोजनाहरुको कमजोर कार्यान्वयन, दिगोपनारहितको मानवीय गतिविधिलगायतका कारणले नेपालले अहिले विश्वव्यापी उष्णताको समस्या झेलिरहेको र नेपालमा अहिले पनि वन विनाशले कृषिलगायतका क्षेत्रमा असर परेको उनको भनाइ छ । उनले वन, जमिन, पानी र वायुका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिईन् ।

साथै उहाँले विकास तथा प्रकृति संरक्षणका क्षेत्रमा एकीकृत, समावेशी र समन्वयात्मक कार्यक्रम सञ्चालन गरी जलवायु परिवर्तनका कारण परेको प्रभावको अनुसन्धान र यसको हानी न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अपनाउन नेपाल सरकारलाई सुझाव पनि दिईन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖