काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि उठेका प्रश्नहरूबारे स्पष्ट पार्दै ‘कानुनभन्दा माथि कोही नहुने’ बताएको छ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सुनारमाथि लागेका आरोपबारे केन्द्रीय अनुशासन आयोगलाई आन्तरिक छानबिनको निर्देशन दिइएको उल्लेख छ। छानबिन निष्कर्षमा नपुगुन्जेल उनलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन रोक लगाइएको छ।
महिलाको मर्यादा, पदीय आचरण र वित्तीय पारदर्शिता जस्ता विषयमा ‘शून्य सहनशीलता’ को नीति रहेको पुनः स्पष्ट पार्दै रास्वपाले कानुन उल्लङ्घन गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण नदिइने र राज्यका अनुसन्धान निकायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
