काठमाडौं । श्रम संस्कृति पार्टीका नेता सुधन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन्।
किरातीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पद नागरिकको भरोसा र सार्वजनिक नैतिकताको मानक भएको बताएका छन्।
उनले उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै गम्भीर उत्पीडन र अनैतिकतासम्बन्धी आरोप तथा प्रश्न उठेपछि नयाँ राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्नुपर्ने बताएका छन्।
“सांसदजस्तो गरिमामय पदको मर्यादा जोगाउन आफूमाथि उठेका प्रश्नको निरूपणका लागि तत्काल पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्,” किरातीले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले नैतिक धरातल बलियो नभएसम्म उत्पीडनबाट मुक्ति सम्भव नहुने र जनताले नयाँ राजनीतिक शक्तिमाथि विश्वास गर्न नसक्ने धारणा पनि व्यक्त गरेका छन्।
सांसद सुनारसँग सम्बन्धित विषयमा रास्वपाले यसअघि नै पार्टीको केन्द्रीय अनुशासन आयोगमार्फत आन्तरिक छानबिन अघि बढाएको जनाएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशनसमेत दिइएको छ।
सुनारमाथि सार्वजनिक भएका आरोपहरूको सत्यताबारे भने निष्पक्ष छानबिनबाट पुष्टि हुन बाँकी छ।
