• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँ महानगर प्रहरीका ८ इन्सपेक्टर सहित १६ जनाले किन दिए राजीनामा ?


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत १६ जना नगर प्रहरीले पदबाट राजीनामा दिएका छन्। पछिल्लो एक साताको अवधिमा आठ जना प्रहरी निरीक्षक, पाँच जना प्रहरी नायब निरीक्षक (सई) र तीन जना प्रहरी सहायक निरीक्षक (असई) ले राजीनामा बुझाएका हुन्।

महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले १६ जनाले राजीनामा दिएको पुष्टि गरेका छन्। राजीनामा दिने अधिकृतहरूले वर्षौँदेखि एउटै पदमा काम गर्नुपरेको र वृत्ति विकासको अवसर नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।

राजीनामा दिएका एक नगर प्रहरी अधिकृतले वृत्ति विकासका लागि महानगरले पहल नगरेपछि बाध्य भएर जागिर छाड्नुपरेको बताएका छन्। उनका अनुसार पदपूर्ति समितिमार्फत हुनुपर्ने वृत्ति विकासको प्रक्रिया अघि नबढ्दा आफूहरू एउटै पदमा सीमित हुनुपरेको हो।

महानगर प्रहरी प्रमुख जोशीले पनि राजीनामा दिनुको कारण वृत्ति विकासको अवसर नपाउनु रहेको बताएका छन्। आफूले सम्बन्धित निकायमा यस विषयमा कुरा राख्दै छलफल गरिरहेको भए पनि केही कर्मचारी थप काम गर्न इच्छुक नदेखिएको उनको भनाइ छ। राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको उनले जानकारी दिएका छन्।

तर, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्यालले भने राजीनामाको कारणबारे फरक दाबी गरेका छन्। उनका अनुसार वृत्ति विकासको अवसर नपाएर नभई ३० वर्षे सेवा अवधि वा ५५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका कर्मचारीहरूले राजीनामा दिएका हुन्।

अर्यालले संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३(८) अनुसार नगर प्रहरीलाई स्थायी नियुक्ति गर्न नसकिने र करारमा मात्रै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताए। करारका कर्मचारीलाई माथिल्लो तहमा बढुवा गर्न नमिल्ने उनको भनाइ छ।

यद्यपि, विगतमा स्थायी नियुक्ति पाएका नगर प्रहरीको बढुवा कसरी गर्ने भन्ने विषयमा महानगरले प्रक्रिया खोजिरहेको उनले बताए। यसका लागि लोक सेवा आयोगको परामर्श वा संलग्नता आवश्यक पर्ने उनको भनाइ छ।

यसरी नगर प्रहरीको राजीनामाको कारणबारे महानगर प्रहरी प्रमुख र प्रमुख प्रशासकीय अधिकृतका भनाइ फरक देखिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖