काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सांसद खगेन्द्र सुनारमाथि पार्टीले आन्तरिक छानबिन सुरु गरेको बताएका छन्।
काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुनारको विषय पार्टीको अनुशासन आयोगमा पुगिसकेको र छानबिनको निष्कर्ष नआएसम्म औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको जानकारी दिए।
बुर्लाकोटीले राज्यका निकायबाट हुने अनुसन्धानमा पार्टीले आवश्यक सहयोग गर्ने बताए। छानबिनबाट सत्यतथ्य खुलेपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
उनले अनुसन्धानबाट सुनार दोषी देखिए पार्टीले कारबाही गर्ने स्पष्ट पार्दै छानबिन लामो समय नजाने विश्वास व्यक्त गरे।
