कञ्चनपुर — कञ्चनपुरमा २२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका अनुसार ब्युरोको शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कात्तिक १ र २ गते जिल्लाका विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–११ र ब्रह्मदेव नगरपालिका–९ बाट उनीहरूलाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का १८ वर्षीय अवि नाथ रहेका छन्। उनको साथबाट १२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राजन चौधरीको साथबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जनाबाट गरी कुल २२ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।
