• Wednesday 21st of October 2026

श्रीमानको अँगालोले श्रीमतीका पाँच करङ भाँचिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं : चीनमा श्रीमानले कसिलो अँगालो हाल्दा एक महिलाका पाँच वटा करङ भाँचिएका छन् भने अर्को करङमा चिरा परेको छ । सामान्य अँगालोका क्रममा गम्भीर चोट लागेपछि यो घटना चर्चामा आएको हो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार जियाङ्सु प्रान्तका एक पुरुषले आइतबार चिसो लागेको बताएकी आफ्नी श्रीमतीलाई मायाले अँगालो हालेका थिए । तर, अँगालो हाल्ने क्रममा महिलाको छातीमा चोट लागेपछि उनलाई असह्य पीडा भएको थियो। उनी बस्न बाध्य भएकी थिइन् भने दुखाइका कारण उठ्नसमेत सकिनन् ।

महिलाले रातभर पीडा सहेर बसेपछि भोलिपल्ट बिहान अस्पतालमा जाँच गराएकी थिइन् । छातीको सिटी स्क्यान गर्दा उनका पाँच वटा करङ भाँचिएको र अर्को करङमा चिरा परेको पत्ता लागेको थियो ।

श्रीमानले सामान्य बल प्रयोग गरेको ठाने पनि यस्तो गम्भीर चोट लाग्ला भन्ने कल्पनासमेत नगरेको बताएका छन् । श्रीमतीलाई चोट पुर्‍याउने आफ्नो कुनै उद्देश्य नरहेको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

चिकित्सकका अनुसार महिलाको हड्डी कमजोर हुनु अर्थात् अस्थिक्षय (ओस्टियोपोरोसिस) चोटको प्रमुख कारण हुन सक्छ । रिपोर्टअनुसार करिब ४५ किलोग्राम तौल भएकी ती महिला तौल घटाउने प्रयासमा थिइन्। उनी राति खाना नखाने, दैनिक कफी पिउने र घाममा कम बस्ने गर्थिन् ।

घटनापछि उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन थालेको श्रीमानले बताएका छन् । उनले घाम ताप्ने र क्याल्सियमयुक्त खानेकुरा सेवन गर्ने बानी सुधार्न थालेकी छन् ।

चिकित्सकका अनुसार हड्डी कमजोर भएका व्यक्तिको छातीमा अचानक वा अत्यधिक दबाब पर्दा करङ भाँचिन सक्छ । विशेषगरी पछाडिबाट अँगालो हालेर अचानक माथि उठाउँदा छातीमा असमान दबाब पर्न सक्ने भएकाले चोट लाग्ने जोखिम हुन्छ ।

चिकित्सकले वृद्धवृद्धा तथा हड्डी कमजोर भएका व्यक्तिलाई अँगालो हालेर अचानक उठाउने काम नगर्न सुझाव दिएका छन् । कसैलाई उठाउन सहयोग गर्नुपरेमा शरीरलाई बिस्तारै र सावधानीपूर्वक सहारा दिनुपर्छ । छातीमा सीधै दबाब दिने, अचानक बल लगाउने र शरीरलाई घुमाउने कामबाट बच्नुपर्ने उनीहरूको सुझाव छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖