• Tuesday 27th of October 2026

युट्युबमा भिडियो हेरेर घरमै बनाए मिनी गन फ्याक्ट्री, बाबुछोरा सहित दुईजना पक्राउ


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा/रौतहट, १० कार्तिक ।भारतको बिहारस्थित मोतिहारीमा प्रहरीले अवैध हतियार उत्पादन गर्ने मिनी गन फ्याक्ट्रीको खुलासा गरेको छ। युट्युबमा भिडियो हेरेर घरमै अवैध हतियार बनाउन थालेको भनिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पूर्वी चम्पारण जिल्लाको तुरकौलिया थाना क्षेत्रअन्तर्गत जयसिंहपुर घरवारी टोलमा प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातको निर्देशनमा सोमवार गरिएको छापामारीका क्रममा ठूलो परिमाणमा निर्मित तथा अर्धनिर्मित हतियार र हतियार बनाउन प्रयोग गरिने उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत अक्टोबर २५ मा तुरकौलिया थाना प्रहरीलाई एक व्यक्तिले अवैध हतियार बोकेको भिडियो प्राप्त भएको थियो। उक्त भिडियोको अनुसन्धान गर्दा जयसिंहपुर घरवारी टोल निवासी हरेंद्र शर्माको पहिचान खुलेको थियो।

सूचनाको पुष्टि भएपछि प्रहरीले हरेंद्र शर्माको घरमा छापामारी गरेको थियो। सोही क्रममा घरभित्र अवैध हतियार निर्माण गर्ने मिनी गन फ्याक्ट्री सञ्चालन भइरहेको खुलेको प्रहरीको भनाइ छ।

के–के बरामद भयो?

प्रहरीले छापामारीका क्रममा दुई थान देशी कट्टा, तीन थान अर्धनिर्मित कट्टा, कार्बाइनजस्ता तीन थान अर्धनिर्मित हतियार, पाँच राउन्ड गोली, एक थान चक्कु, दुई थान हथौडा, एक थान ठूलो प्लास, एक थान फलाम काट्ने मेसिन र चार थान मोबाइल फोन बरामद गरेको छ।

यस घटनामा हरेंद्र शर्मा र प्रिन्स कुमारलाई पक्राउ गरिएको छ। दुवै जना तुरकौलिया थाना क्षेत्रकै जयसिंहपुर घरवारी टोलका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

हतियारको आपूर्ति सञ्जालबारे अनुसन्धान
पूर्वी चम्पारण प्रहरीले घटनाबारे मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाएको छ।

घरमै अवैध हतियार उत्पादन गर्ने कार्यमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको तथा निर्मित हतियार कहाँ र कसलाई आपूर्ति गरिन्थ्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले यस घटनालाई अवैध हतियार निर्माण तथा ओसारपसारको सञ्जालसँग जोडेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖