काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मी पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै थापाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
सरकारका पछिल्ला गतिविधि चिन्ताजनक रहेको उल्लेख गर्दै उनले राज्यका निकायलाई सरकारले आफ्ना आदेश पालना गर्ने संयन्त्रका रूपमा बुझ्न थालेको आरोप लगाए।
‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो,’ थापाले भने।
उनले सरकारले शक्तिको स्वेच्छाचारी प्रयोग गरिरहेको आरोपसमेत लगाए। ‘मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो। प्रवृत्तिले हद नाघेको छ,’ उनले टिप्पणी गरे।
थापाले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएका पछिल्ला घटनालाई सरकारको कार्यशैलीसँग जोड्दै राज्यका निकाय कानुनी शासन र संवैधानिक मर्यादाभित्र रहेर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।
