• Tuesday 3rd of November 2026

थाना परिसरमै महिला प्रहरीबाट बलात्कारको आरोप, १२ प्रहरी निलम्बित


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा/रौतहट १७ कार्तिक। भारतको झारखण्ड राज्यस्थित सरायकेला प्रहरी थाना परिसरमै एक महिलामाथि प्रहरी कर्मचारीले बलात्कार गरेको आरोप लागेको छ। 

घटनापछि कर्तव्यप्रति गम्भीर लापरवाही, अनुशासनहीनता र जिम्मेवारी निर्वाहमा कमजोरी गरेको आरोपमा १२ जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी अधीक्षक मनोज स्वर्गियारीले घटनाको पुष्टि गर्दै बीबीसी हिन्दीलाई दिएको जानकारीअनुसार यस प्रकरणमा कुल १५ जना नामजद अभियुक्त रहेका छन्।

प्रहरी अधीक्षक स्वर्गियारीका अनुसार १२ जना प्रहरी कर्मचारीलाई कर्तव्यप्रति घोर लापरवाही, शिथिलता तथा अनुशासनहीनताको आरोपमा निलम्बन गरिएको हो।

प्राप्त जानकारीअनुसार ती महिलाको आफ्ना पतिसँग कुनै विषयमा विवाद भएपछि उनी सहयोग माग्दै स्थानीय प्रहरी थानामा पुगेकी थिइन्। 
तर, उनलाई राखिएको कोठामै प्रहरी थानाका वायरलेस अपरेटरले बलात्कार गरेको पीडित महिलाको आरोप छ।

घटनाको निष्पक्ष अनुसन्धानका लागि विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको प्रहरी अधीक्षकले बताएका छन्। 

उनका अनुसार एसआईटीले घटनाका सबै पक्षमा गहन अनुसन्धान गरिरहेको छ। अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि दोषी देखिने व्यक्तिमाथि थप कानुनी कारबाही गरिनेछ।

महिलामाथि बलात्कार भएको पुष्टि मेडिकल परीक्षणबाट भएको हो कि होइन भन्ने प्रश्नमा प्रहरी अधीक्षक स्वर्गियारीले मेडिकल परीक्षण भइसके पनि त्यसको प्रतिवेदन प्राप्त हुन बाँकी रहेको बताए। 

उनले मेडिकल रिपोर्टको प्रतीक्षा भइरहेको जानकारी दिए।

यस घटनाप्रति झारखण्ड विधानसभाका विपक्षी दलका नेता बाबुलाल मराण्डीले पनि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाएका छन्।
उनले सरायकेलाको प्रहरी थाना परिसरमै एक महिलामाथि प्रहरी कर्मचारीबाट बलात्कार भएको आरोप अत्यन्तै लज्जास्पद र चिन्ताजनक भएको उल्लेख गरेका छन्।

मराण्डीले ‘जब रक्षक नै भक्षक बन्न थाल्छन् भने महिलाको सुरक्षाको आशा आखिर कसबाट गर्ने?’ भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाएका छन्।

घटनाबारे एसआईटीको अनुसन्धान र मेडिकल रिपोर्ट आउन बाँकी रहेकाले आरोपको अन्तिम पुष्टि हुन भने बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖