• Wednesday 7th of October 2026

श्री दुर्गासप्तशती चण्डी पाठको महत्व तथा पाठ गर्दा ध्यान दिनुपर्ने कुराहरु


  • धनकुटा खबर
  • .

श्रृष्टिको प्रारम्भ देखिनै मातृ शक्तिको विशिष्ट स्थान रहँदै आएको कुरा सर्वविदितै रहेको छ । मानव जीवनमा आई पर्ने आध्यात्मिक, आधिभौतिक र आधिदैविक सम्पूर्ण दुःख कष्टहरुलाई हटाई आमाले आफ्ना बच्चाहरूलाई विविध आपद विपद्बाट रक्षा गरेजस्तै दुर्गामाताले मातृको रुपमा सम्पूर्ण प्राणीहरूको रक्षा गर्नुभएको विश्वास गरिन्छ। त्यसैले दुर्गामाताको प्रसन्नता तथा उहाँको विशेष कृपा प्राप्त गर्नको लागि दुर्गामाताको विविध चरित्र रुप र तीनको पूजा पाठ विधि समेत उल्लेख भएको श्रीदुर्गासप्तशती (चण्डी) पाठ गर्नुपर्दछ । त्यसबाट दुर्गामाता प्रसन्न भै माताको कृपाले मानवले धर्म, अर्थ, कामका साथै मोक्षसम्म प्राप्त गर्दछन् । श्रीदुर्गासप्तशती बाह्र अध्यायमा देवीले सप्तशती पाठ गर्दा प्राप्त हुने फल बताउनुभएको श्लोक यहाँ उल्लेख गरिन्छ-

अष्टम्यां च चतुर्दश्यां नवम्यां चैकचेतस:।
श्रोष्यन्ति चैव ये भक्त्या मम माहात्म्यमुत्तमम्।।
न तेषां दुष्कृतं किञ्चिद् दुष्कृतोत्था न चापद:।
भविष्यति न दारिद्रयं न चैवेष्टवियोजनम् ।।
शत्रुतो न भयं तस्य दस्युतो वा न राजतः।
न शस्त्रानलतोयौघात्कदाचित्सम्भविष्यति॥

अर्थ: जसले अष्टमी, चतुर्दशी तथा नवमीमा भक्तिपूर्वक मेरो महात्म्य पढ्दछन् वा सुन्छन् भने, त्यस्ता व्यक्तिलाई कुनै पापले छुन सक्दैन।तिनको घरमा कहिल्यै दरिद्रता आउने छैन र तिनले कहिल्यै प्रेमीजनहरूको वियोगको कष्ट पनि भोग्नुपर्ने छैन। त्यति मात्र होइन, तिनलाई शत्रुबाट, लुटेराहरूबाट, राजाबाट, अग्निबाट र जलराशिबाट पनि कहिल्यै डर हुने छैन।

यस्तै आश्विन शुक्लपक्षको नवरात्रमा श्रीदुर्गासप्तशती (चण्डी) पाठको महत्व पनि बाह्र अध्यायमा रहेको छ-

शरत्काले महापूजा क्रियते या च वार्षिकी ।
तस्यां ममैतन्माहात्म्यं श्रुत्वा भक्तिसमन्वितः ॥
सर्वाबाधविनिर्मुक्तो धनधान्यसुतान्वितः ।
मनुष्यो मत्प्रसादेन भविष्यति न संशयः ॥

अर्थ: शरदकालमा अर्थात् शरद् ऋतुको समयमा आश्विन शुक्लपक्षमा जुन वार्षिक महापूजा गरिन्छ, त्यस अवसरमा जो मेरो यो माहात्म्यलाई भक्तिपूर्वक सुन्दछ, त्यो व्यक्ति मेरो प्रसादले सबै बाधाबाट मुक्त तथा धन-धान्य एवं पुत्रले सम्पन्न हुने छ, यसमा कुनै शंका छैन।

दुर्गा सप्तशती पाठकले केही खास नियमहरु पनि अपनाउनु पर्ने हुन्छन् जो यस प्रकार छन्:-

मनलाई एकाग्र गरेर माता दुर्गाको ध्यान गर्दै श्रद्दापूर्वक पाठ गर्नु पर्छ।
पाठ मधुर स्वरमा गर्नु पर्छ। अक्षरहरुको उच्चारण स्पष्ट तथा यथासम्भव एकै लयमा हुनु पर्छ।

उच्चारणमा शिघ्रता गर्नु, पाठको गर्दा टाउको हल्लाउनु तथा पाठको बीचमा कसैसँग बातचीत गर्नु जस्ता दोषहरुलाई त्याग्नु पर्छ।
पाठ गर्दा अर्थलाई बुझेर देवीको महिमासँग पुलकित हुनु पर्छ।
पाठ कण्ठ भए पनि पुस्तकलाई अगाडि राख्नु पर्छ, जसले गर्दा विस्मरण तथा पाठको अशुद्धिबाट बचाउ हुन सक्छ।

यदी कुनै कारणवस पाठलाई बीचमा छोड्नु परेमा पाठलाई पुन: प्रारम्भबाट पढ्नु पर्ने हुन्छ।

अनिवार्य रुपले पाठ शुद्ध हुनु पर्छ। अशुद्ध गर्नाले पाठ गरेको आधा फल नष्ट हुन्छ।

प्रत्येक अध्यायको समाप्तिमा ‘इती’, ‘वध’, ‘अध्याय’, तथा ‘समाप्त’ जस्ता शब्दहरुको उच्चारण कहिल्यै पनि गर्नु हुदैन। प्रत्यक अध्यायको समाप्तिमा यस प्रकार भन्नु पर्छ:- श्रीमार्कण्डेयपुराणे सावर्णिके मन्वन्तरे देवीमाहत्म्ये (प्रथम:, द्वितीय:, तृतीय: आदि) ॐ तत्सत्।
सप्तशती स्तोत्रको पाठ मानसिक नभएर स्पष्ट शब्दमा हुनु पर्छ।
सप्तशती पाठलाई छिटो सिद्धाउने हतार तथा चित्त चंचलतामा नियन्त्रण राख्नु पर्छ।
-मेरो ज्योतिष

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖