• Thursday 8th of October 2026

एक्सनमा पोखरा महानगर : फिर्के खोला मिचेर बनाइएका घर भत्काउन ३५ दिने अल्टिमेटम


  • धनकुटा खबर
  • .

पोखरा । पोखरा महानगरपालिकाले फिर्केको खोलाघरको संरचना भत्काउन सूचना निकालेको छ । यसअघि महानगरले नाप जाँच गरेर खोला घरका संरचना छुट्टाएको छ । सबै संरचना ३५ दिनभित्र भत्काउन सूचना जारी गरिएको हो ।

‘यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नाप जाँच गरी पोल गाडिएको भन्दा भित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूर्ण रुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ महानगरले भनेको छ, ‘उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने ब्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।’

अध्ययन टोलीले बुझाएको प्रतिवेदनअनुसार फिर्केको खोला घरमा १ सय ६० संरचना निर्माण भएको छ । त्यसमध्ये १ सय ७ वटा अस्थायी छन् भने ५३ वटा स्थायी छन् । व्यक्ति मात्रै नभई सरकार र विभिन्न सङ्घ संस्थाले समेत फिर्के मिचेका छन् । १ सय ३२ वटा संरचना व्यक्तिगत र बाँकी संरचना संस्थागत र सरकारी रहेको प्रतिवेदनमा उल्लेख छ । सशस्त्र प्रहरी बलको तालिम केन्द्रको दुई वटा भवन फिर्केको खोला घरमा निर्माण भएको छ । लिटिल स्टेप बोर्डिङ स्कुलका दुई वटा भवन, पोखरा इन्जिनियरिङ कलेज, लायन्स क्लव भनव, इलेक्ट्रिक एशोसियसन र फिर्के तमु समाजको भवन खोला घरमा छन् ।

कुँवर समाज घरका दुई वटा भवन बराल समाज घर, सोंपाल समाज घर र भयरथान महिला समूहको भवन पनि फिर्केको पानी बग्ने ठाउँबाट पिलर उठाएर बनाइएको छ । राधाकृष्ण मन्दिर र अँधेरी कुनाको सामुदायिक भवन गिरी समाज घर, बगालेटोलको किरिया पुत्री भवन, पोखरा फोटो ग्राफर सङ्घ, अर्चलबोट किरिया पुत्री भवन र पुन मगर समाजले फिर्केमाथि पक्की भवन बनाएका छन् । बराल कल्याण मन्दिर, शिव मन्दिर, राधाकृष्ण आश्रमले पनि फिर्के अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन टोलीले २ महिना लगाएर फिर्केको नाप जाँच गरेको हो । ८ किलोमिटर लामो फिर्के खोला पोखराका मुख्य ८ वटा वडा हुँदै बग्छ । अध्ययन टोलीले फिर्केको पश्चिमतिर ३ सय ३ र पूर्वतिर २ सय ८५ गरी ५ सय ८८ वटा सीमा स्तम्भ गाडिदिएको छ । २०३२ सालको नापीलाई आधार मानेर अध्ययन गरिएको हो । फिर्के ४ मिटरदेखि ९ मिटरसम्म गहिरो छ भने ३.३ मिटरदेखि ४० मिटरसम्म फराकिलो छ । तर अहिले कतिपय ठाउँमा खोलाको अस्तित्व समेत भेटिँदैन । अध्ययन टोलीले फिर्के बचाउन तत्कालै भौतिक संरचना निर्माणको काम रोक्न र भएका संरचना भत्काउन महानगरलाई सुझाव दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖