• Thursday 8th of October 2026

अभिनेता प्रकाश घिमिरेको स्वास्थ्य सुधारोन्मुख


  • धनकुटा खबर
  • .

काठमाडौं । घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरेको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अहिले उनलाई पोखराको मणिपाल मेडिकल कलेजको इमर्जेन्सीबाट आइसीयूमा राखेर उपचार भैरहेको छ । कलेजका मेसु डाक्टर अभिषेक मास्केका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार भएको र बोलाउँदा सुनेर प्रतिक्रिया दिन थालेका छन् ।

घिमिरेका छोरी र ज्वाइँसमेत चिकित्सक रहेकाले अस्पताल एवं उपचारमा सलग्न विशेषज्ञ चिकित्सकसँग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ । उनी निकट अभिनेता अनुप बरालले पनि शुक्रबार साँझसम्म घिमिरेको स्वास्थ्यमा सुधार देखिएको बताए ।

साँझदेखि होस आएको र रक्तचाप पनि स्थिर रहेको उनको भनाई छ । उनका अनुसार घिमिरेको टाउको, छाती र मेरुदण्डमा चोट छ । डाक्टरसँग दोहोरो कुराकानी भएको र अवस्था सुधारोन्मुख रहेको उनले बताए ।

शुक्रबार बिहान पोखरा-३ नदीपुरको भीरमा घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका हुन् । थप उपचारका लागि शुक्रबार नै काठमाडौँ लैजाने तयारी गरिए पनि रक्तचाप लगायतको कारणले नसकिएको जनाइएको छ ।

कलात्मकरुपमा निकै रुचाइएका नेपाली फिल्ममा अभिनय गरेका घिमिरे पोखरा नदीपुरका स्थायी बासिन्दा समेत हुन् । उनको अभिनय रहेको ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले हलमा चलिरहेको छ । उनले स्थानीय कन्या माबिमा ३७ वर्ष शिक्षण पेशा समेत गरे ।

पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष र सल्लाहकारको भूमिका निर्वाह गरेका अभिनेता घिमिरे पोखरा प्रतिविम्ब नाट्य समूहमा आबद्ध छन् । उनले लगभग ३७ वटा नाटकमा अभिनय गरिसकेका छन् । नवीन सुब्बाद्वारा निर्देशित टिभी सिरिज ‘दलन’ उनको चर्चिन श्रृंखला हो ।

टलकजंग भर्सेस टुल्के, छ माया छपक्कै, साइँली, फन्को, जात्रा, जात्रैजात्रा, पशुपतिप्रसाद, पञ्चेबाजा, घामपानी र पानीफोटो लगायत चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖