• Thursday 8th of October 2026

परिवारको सामूहिक हत्याको चोटले कतारबाट घर आइपुगेका दीपक भावविह्वल…


  • धनकुटा खबर
  • .

काठमाडौं । श्रीमतीसहित तीन सन्तानको सामूहिक हत्याको चोटमा परेका मुगु छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँका दीपक बोहोरा शनिबार कतारबाट घर आइपुगेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा उनी कतारमा थिए । ८ कात्तिकमा माइतीघरबाट टीका थापी तीन सन्तान लिएर घर फर्किएकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, एक वर्षीय छोरा रहर बोहोरा र सात वर्षीया छोरी अप्सरा बोहोराको शव घरमा भेटिएको थियो । खबर सुन्नासाथ बेहोस भएका दिपक घर आएलगत्तै भावविह्वल भएका छन् ।’

दीपकले आफ्नो हरेक दिन दुई तीनपटक श्रीमतीसहित परिवारसँग भिडियो कल हुने गरेको सुनाए । उनले ८ कात्तिकमा भएको भिडियो कल नै अन्तिम भएको बताए । ‘त्यस दिन परिवारका सबै घर पुगिसकेपछि पनि मोबाइलमा लामो समय कुरा भएको थियो । श्रीमतीले भोलि बारीको सिमी उखेल्नुपर्ने छ, काम सकेपछि फेरि कुरा गरौँला भनेर भिडियो कलबाट दुवैजना छुट्टिएका थियौँ,’ दीपकले भने । श्रीमती श्रीदेवीको फेसबुक आइडीबाट ९ कात्तिक बेलुकी ५ बजेतिर म्यासेन्जरमा परिवारको फोटो सेन्ट भएको र लगत्तै आफूले दुईपटकसम्म कल गर्दा फोन नउठेको उनले सुनाए । केही समयपछि अर्को नम्बरमा फोन गर्दा पनि अफ भएको उनको भनाइ छ ।’

प्रहरीले ८ कात्तिक राति नै हत्या भएको हुन सक्ने अनुमान गरेको छ । प्रहरीले १० कात्तिकमा मात्र घटनाको जानकारी पाएको थियो । श्रीदेवी आफ्ना तीन सन्तानसँग दशैंको टीका थाप्न माइतीगाउँ गएको छरछिमेकी सबैलाई जानकारी थियो । १० कात्तिक बिहानसम्म घरमा ताला लगाएको छिमेकीले देखेपछि उनकी माइजू रेशा बोहराले श्रीदेवीको माइतीघरमा फोन गरेर भान्जीको घरमा ताला लगाएको जानकारी गराएकी थिइन् । उताबाट चारैजना ८ कात्तिकमै आफ्नो घर फर्केको खबर आएपछि छिमेकीले ताला फोडेर घरभित्र हेर्दा चारैजनाको शव देखेपछि तत्कालै प्रहरीलाई फोन गरेर जानकारी गराएको छिमेकी भक्तबहादुर बोहराले बताए ।’

प्रहरीले घटनास्थल सिल गरी अनुसन्धानको काम अगाडि बढाएपनि अपराधीको नजिक प्रहरी पुग्न नसकेको छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलले बताए । प्रहरी टोलीले घटनाको मुचुल्कालगायत अन्य अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । नेपालगन्जबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान गरिरहेको प्रहरीले थप अनुसन्धानका लागि नेपालगन्ज, सुर्खेत र जुम्लाबाट प्रहरी अधिकृतलगायतको टोली झिकाएको छ  । प्रहरीले अनुसन्धानका सबै प्रक्रिया अपनाएर अपराधीलाई ढिलोचाँडो समातेरै छोड्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले बताए । दिपक आएपछि चारवटै शवलाई परीक्षणका लागि सदरमुकाम पठाइएको छ । श्रीमान आएपछि मात्र घटनास्थलबाट शव उठाइएको थियो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖