• Thursday 8th of October 2026

राष्ट्र सङ्घका महासचिव गुटेरेसद्वारा फेवातालमा डुङ्गा सयर, महादेवको मूर्ति अवलोकन


  • धनकुटा खबर
  • .

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस आज साेमवार पाेखरा आइपुग्नुभएकाे छ । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत आज दिउँसो पोखराकाे पुरानाे विमानस्थल आउनुभएकाे हाे ।

गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोलीले विमानस्थलमा स्वागत गरेका थिए । उहाँलाई विमानस्थल परिसरमा पोखराका विभिन्न सङ्–घसंस्थाले बाजागाजासहित स्वागत गरेका थिए ।

महासचिव गुटेरेसले आज साँझ फेवातालमा डुङ्गा सयर गर्नुभएकाे छ । तालमा रहेको मोटरबोट चढेर उहाँले तालबाराही मन्दिरकाे परिक्रमा गर्नुभएकाे हाे ।

यसअघि उहाँले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा रहेको विशाल महादेवको मूर्ति अवलोकन गर्नुभयाे । त्यहाँबाट उहाँले पोखरा बजार, फेवाताल र हिमशृङ्खला हेरेर फर्किनुभएकाे थियाे ।

गुटरेस भाेलि मङ्गलवार बिहान सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर जानुहुनेछ । जलवायु परिवर्तनको असरबारे बुझ्न र प्रत्यक्ष अनुभव गर्न उहाँ त्यहाँ जान लाग्नुभएकाे हाे ।

महासचिव गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा स्थलगत अनुगमन गर्ने कार्यक्रम पनि छ । आधार शिविरबाट उहाँ बिहान साढे ७ बजे पोखरा विमानस्थल फर्किएर लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖