नेपालका स्पिनर सन्दीप लामिछानेले टि२० विश्वकपमा पुगेर घाइते दीपेन्द्रसिंह ऐरीलाई गिफ्ट दिन चाहेको बताएका छन् । सोमबार बिहान सिंगापुरसँग खेल्नुअघि अभ्यासको क्रममा एंकलमा चोट लागेपछि दीपेन्द्रले पूरै प्रतियोगिता गुमाउने छन् ।
मंगलबार मलेसियालाई हराएपछि सन्दीपले दीपेन्द्रको अवस्थाबारे बताउँदै उक्त प्रतिक्रिया दिएका हुन् ।
‘उनी लामो समय देखी टि२० क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्ने हाम्रो खेलाडी हुन् । पक्कैपनि उसको कमी महसुस हुनेछ । तर पनि हामी भरपूर्ण प्रयास गर्नेछौं । हामी यहाँबाट जसरी हुनसक्छ जितमाथि जित निकालेर विश्वकप सम्म पुग्नेछौं । त्यो दिप्पीलाई पनि हाम्रो एउटा गिफ्ट हुनेछ’, खेलपछि सन्दीपले पत्रकारसँगको कुराकानीमा भने ।
सन्दीपले दीपेन्द्रलाई ठिक हुन एक देखी डेढ महिना लाग्ने बताएका छन् । ‘उनको गम्भीर किसिमको चोट हो । त्यसैले मलाई लाग्छ एक डेढ महिना उसलाई ठिक हुन सहज हुन्छ होला ।
शीघ्रस्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु । उसलाई सकेसम्म छिटो भन्दा छिटो मैदानमा देख्न पाउँ’, उनले भने ।
