काठमाडौ । गृह मन्त्रालयकै संलग्नतामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको संगठित ठगी घटनामा प्रहरीले गुपचुप दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । पहिलो चरणको अनुसन्धान सकिएपछि परेका जाहेरीलाई आधार बनाएर जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान थालेको हो । परिसरले पुर्पक्षका लागि थुनामा रहेका बिचौलियाहरूलाई झिकाएर बयान गर्न थालेको छ । यति संवेदनशील अपराधमा प्रहरीले गुपचुप रूपमा अनुसन्धान सकाएर मुद्दा बुझाउने तयारी गरेपछि निष्पक्षताका साथ अनुसन्धान हुनेमा आशंका बढेको छ ।
काठमाडौं परिसरले यसै साता सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मालगायतको बयान सुरु गरेको छ । साउनको अन्तिम साता १८ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको हो । किटानी जाहेरीमा नाम उल्लेख गरिएका बिचौलियाले नै सर्वसाधारणसँग पैसा उठाएर गृह मन्त्रालयका अधिकारीलगायत उच्चपदस्थलाई आर्थिक प्रभावमा पारी आफूअनुकूल काम गराउने प्रयास गरेका थिए । पहिलो चरणको अनुसन्धानमा उनीहरूले यो कुरा बयानमा मात्र बताएनन्, त्यसको प्रमाणसमेत दिएका थिए । तर, यसपटक उनीहरूको बयान फेरिएको छ । यसपटकको बयानमा उनीहरूले उच्चपदस्थहरूको नाम लिएका छैनन् । साथै, बयान पनि इन्कारी दिएका छन् । जसकारण अनुसन्धान प्रभावित भएको पीडितहरूको आशंका छ ।
यसअघि उनीहरूकै बयानका आधारमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीलगायतका उच्चपदस्थ पक्राउ परेका थिए । हाल उनीहरू पनि पुर्पक्षका लागि जेलमा छन् । तर, दोस्रो चरणमा उच्चपदस्थहरूमाथिको अनुसन्धानमा प्रहरीले पनि चासो राखेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान गराएको स्रोत बताउँछ । निकै गोप्य रूपमा प्रहरीले उनीहरूको बयान गरेको छ । यसअघि संगठित अपराध, राज्यविरुद्धको कसुर, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो । अहिले सामान्य ठगी मात्र चलाउनुपर्ने दबाब प्रहरीमाथि परेको छ । दोस्रो चरणको अनुसन्धानबारे जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् ।
केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायत भने दोस्रो चरणमा पनि प्रहरीले सूक्ष्म रूपमै अनुसन्धान गरिरहेको दाबी गरे । ‘नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारी फेरिँदैमा कुनै असर पर्दैन,’ उनले भने, ‘दोस्रो चरणमा पनि विस्तृतमै अनुसन्धान भइरहेको छ ।’ यसअघि अनुसन्धान प्रभावित गर्ने उद्देश्यले नै सरकारले काठमाडौंका उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखलाई हटाएको थियो । हाल अनुकूल प्रहरी अधिकृत खटाएर गुमचुपमा दोस्रो चरणको अनुसन्धान सकाएर अदालतमा मुद्दा लैजाने तयारी छ । ‘केही बिचौलिया मात्र दोस्रो चरणको अनुसन्धानमा तानिने सम्भावना छ,’ प्रहरी स्रोतले भन्यो, ‘सेटिङकै आधारमा अनुसन्धान चलिरहेको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।
