काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै वंशको शासन ल्याएर देश विकास नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
आफूभन्दा अगाडि बोलेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपनेता बुद्धिमान तामाङतर्फ लक्षित गर्दै नेपालले भने— कुनै वंशको शासन अगाडि ल्याएर देशको विकास गर्ने सपना नदेख्नूस्, कल्पना नगर्नूस् ।
कुनै वंशको शासन ल्याउनु देशलाई पुन: अँध्यारोतिर धकेल्नु भएको उल्लेख गर्दै उनले देशको समस्याको समाधान वंश शासन नभएको बताए । उनले भने,”सक्नुहुन्छ भने आउनुस् राजनीतिमा नयाँ विकल्प दिनुस् । यदि त्यसो होइन भने यो व्यवस्थामाथि प्रश्न उठाउने तपाईंको अधिकार छैन ।”
उनले सदनमा रचनात्मक प्रतिपक्ष नै नभएको बताए । सरकारले गरेका राम्रा कामलाई पनि स्वीकार्न नसक्ने दलहरू रहेको बताए । “कमसेकम राम्रो कामलाई राम्रो भन्नुपर्छ । त्यो हो रचनात्मक प्रतिपक्ष । हामीकहाँ त त्यस्तो प्रतिपक्ष नै छैनन्,” उनले भने ।
फरक प्रसङ्गमा उनले इजरायलमा रहेका विपिन जोशीलाई सकुशल नेपाल ल्याउन सरकारले यथाशक्य पहल गर्नुपर्ने बताए । १५२ जना विद्यार्थीलाई ल्याएकोमा धन्यवाद दिँदै उनले जोशीको उद्धारमा सरकार लाग्नुपर्ने बताए ।
