• Tuesday 6th of October 2026

खेल्ने मात्रै होइन विश्वकपमा जित्ने पनि छौं : सोमपाल


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली क्रिकेट टिमका अलराउण्डर सोमपाल कामीले आफूहरु टी–२० विश्वकप खेल्ने मात्र नभई केही खेल जित्ने पनि बताएका छन् ।

यूएईलाई हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेपछि पत्रकारसित सोमपालले भने, ‘क्रिकेट खेल्दाको सपना थियो । नेपाललाई राम्रो ठाउँमा प्रतिनिधित्व गर्ने विश्वकप गइरहेको छु । खुसी लागिरहेको छ । हामी खेल्न मात्रै होइन जित्न पनि गइरहेका छौं ।’

आउँदो जुनमा अमेरिका र वेष्ट इण्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टी–२० विश्वकपमा २० टिम सहभागी हुने छन् ।

जहाँ एउटा समूहमा ५ टिम रहन्छन् । समूहमा एसोसियट र टेष्ट मान्यता टिम पनि रहने छन् ।

विश्वकपमा छनोट भएको क्षणलाई शब्दमा बयान गर्न नसकिने भन्दै सोमपालले भने, ‘एकदमै खुसी लागिरहेको छ । २०२३ ले धेरै कुराहरु दियो । त्यसकारण पनि लक्की फिल गरिरहेको छु ।’

टिममा साथीहरुसँग जसरी पनि विश्वकप खेल्नु पर्छ भन्ने कुरा हुने गरेको उनले सुनाए । ‘करण, म र अभिनाश रुममा पनि जसरी पनि हामीले टी–२० विश्वकप खेल्नु पर्छ भन्ने कुरा गथ्र्यौँ,’ सोमपालले भने, ‘त्यो पाउँदा हामी एकदमै खुसी छौं ।’

सन् २०१४ मा पहिलो पल्ट टी–२० विश्वकप खेलेको नेपालले त्यसको १० वर्षपछि फेरि विश्वकपमा छनोट भएको हो । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको टिममा सोमपाल पनि थिए । उनले आफूले त्यो बेला भन्दा अहिले बढी इन्जोय गरेको बताए ।

‘पछिल्लो पटक क्वालिफाइको मोमेन्ट मैंले इन्जोय गर्न पाएको थिइनँ । तर यो पाली फुल इन्जोय गरें,’ सोमपालले भने, ‘त्यति बेला सानो थिएँ । दाइहरुको अघि खुल्न मिल्दैनथ्यो । भाइहरुको अघि त खुल्न मिल्यो नि ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖