नेपालले एसिया कपमा घरेलु टोली पाकिस्तानविरुद्ध मध्यम प्रदर्शन गरेको छ । मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले १४ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको छ ।
पाकिस्तानका बाबर आजम २४ बलमा १ चौकासहित १६ रनमा क्रिजमा छन् । मोहम्मद रिजवान २८ बलमा ३ चौकासहित २४ रनमा क्रिजमा छन् । तेस्रो विकेटका लागि रिजवान र बाबरले ४९ बलमा ४० रनको साझेदारी गरेका छन् । एक समय ६.१ ओभरमा २५-२ को अवस्थामा पुगेको पाकिस्तानलाई बाबर र रिजवानले राम्रो सुरुवात दिलाएका छन् ।
नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिएका थिए । करणको छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमान एज लागेर विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट भए ।
सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए । त्यसअघि आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।
