• Thursday 8th of October 2026

श्रीमतीको हत्या गरेर भारत भागेका श्रीमान् ५ महिनापछि पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौंमा एक जना महिलाको हत्या भएको खुलेको छ।

घटना गत जेठकै भए पनि अहिले उक्त घटना बाहिरिएको छ।
प्रहरीले कात्तिक ५ गते दिउँसो ३ बजे शंखरापुर नगरपालिका वडा नम्बर १ बस्ने ३३ वर्षीय लालु विकलाई गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीबाट पक्राउ गरेको हो।

२८ वर्षीया श्रीमती गोपी विकको हत्या गरेको आरोपमा बौद्ध प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीकाअनुसार लालु गत जेठ २३ गते आफ्नी श्रीमती सम्पर्कबिहीन भएको भन्दै प्रहरी चौकी नाङ्गलेभारीमा पुगेका थिए।

घरमा कसैलाई पनि थाहा नहुने गरी श्रीमती बेपत्ता भएको भन्दै उनी प्रहरीकहाँ पुगेका थिए। उनले श्रीमतीको खोजी गरिदिन असार १० गते प्रहरी प्रभाग साँखुमा निवेदन दिएका थिए।

फेरि मृतक गोपीका भाइ गोपालले असार १७ गते आफ्नी दिदीको खोजी गरिदिन भन्दै अर्को निवेदन दिएका थिए।

प्रहरीले गोपीलाई खोजिरहेकै बेलामा श्रीमान् लालु साउन २९ गतेदेखि बेपत्ता भए। उनी पनि सम्पर्कबिहीन भएको भन्ने खबर पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

जिल्‍ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको थियो। कल डिटेल्सहरू अध्ययन गर्दा उनी भारत भागिसकेको खुलेको थियो।
अनुसन्धानकै क्रममा उनी फेरि काठमाडौं फर्किएपछि कात्तिक ५ गते माकलबारीमा फेला परेका हुन्। पक्राउ गरी सोधपुछ गर्ने क्रममा उनले जेठ १९ गते बिहान ६ बजे नै श्रीमती गोपीको हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ।

सामान्य घरायसी कुरामा विवाद हुँदा उनले गोपीको टाउको लगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको बताएका थिए।
हत्यापछि जेठ २० गते राति १ बजे शवलाई दुई भाग लगाएर दुई वटा बोरामा राखेको प्रहरीले जनाएको छ। शव मोटरसाइकलमा राखेर नजिकै रहेको देउराली सामुदायिक वनमा लगेर खाल्डोमा पुरेको बयान उनले दिएका थिए।

उनको प्रारम्भिक बयानपछि प्रहरीको टोली घटनास्थल पुगेर गोपीको शव निकालिएको थियो।

प्रहरीका अनुसार करिब ५ फिट गहिराइमा दुई वटा बोराभित्र राखेको अवस्थामा शव फेला परेको थियो। शव गलिसकेको अवस्थामा फेला परेको थियो।

शवको परीक्षणका लागि पठाएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖