• Tuesday 6th of October 2026

एञ्जेलो म्याथुज बने एक बल पनि नखेली आउट हुने विश्वकै पहिलो ब्याट्सम्यान


  • धनकुटा खबर
  • .

श्रीलंकाका एञ्जेलो म्याथुज एक बल पनि फेस नगरी आउट हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् ।

विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनलाई अम्पायरले टाइम आउट गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २ मिनेट भित्रमा नयाँ ब्याट्सम्यानले क्रिजमा पुगेर बल फेस गर्नका लागि तयारी अवस्थामा बस्नु पर्छ ।

२४.२ ओभरमा सकिब अल हसनको बलमा सदिरा समराविक्रम आउट भएपछि म्याथुज ब्याटिङमा आएका थिए ।

तर उनले क्रिजमा पुग्न समय लगाए । क्रिजमा पुगेर पनि हेलमेट बाँध्न केहीबेर अलमलिएका उनले नयाँ हेलमेटका लागि ड्रेसिङ रुममा संकेत गरेका थिए ।

त्यतिबेलासम्म २ मिनेट नाघिसकेको थियो । त्यसैले बंगलादेशी कप्तान सकिब उल हसन र बंगलादेश टिमले म्याथुज टाइम आउट भएको अपिल गरे । जस अनुसार अम्पायरले म्याथुजलाई १ बल पनि खेल्न नपाउँदै पभेलियन पठाए ।

म्याथुज पुरुष तथा महिलाको कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा टाइम आउट हुने खेलाडी रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ ।

आईसीसी विश्वकप २०२३ को प्लेइङ कन्डिसनमा पनि २ मिनेटमा ब्याटिङका लागि तयार नहुने खेलाडीलाई अम्पायरले टाइम आउट गर्ने उल्लेख रहेको आईसीसीले स्पष्ट पारेको छ ।

टाइम आउट हुने ३६ वर्षका म्याथुज श्रीलंकाका अनुभवी अलराउण्डर हुन् । उनले श्रीलंकाका लागि २२४ वटा ओडीआई र १०६ वटा टेष्ट खेलेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖