• Tuesday 6th of October 2026

अर्नाले राष्ट्रिय क्रिकेटरलाई बाँड्यो झण्डै ४२ लाख, दीपेन्द्रसहित ४ जनाले ९० हजार पाउने


  • धनकुटा खबर
  • .

काठमाडौं । अर्ना वियरले हालै टी-२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । हिजो आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख ७६ हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गरेको हो ।

वितरित पुरस्कारमध्ये १८ लाख ७७ हजार रूपैयाँको चेक क्रिकेट टीमका लागि कप्तान रोहित पौडेललाई हस्तान्तरण गरियो । यो रकम छनोट प्रतियोगिताका लागि घोषित राष्ट्रिय टीमका १५ सदस्यसहित २१ जनाले दामासाहीले पाउनेछन् । यसअनुसार सबैको भागमा करिब ९० हजार रूपैयाँ पर्ने भएको छ ।

१५ सदस्यीय टीममा ललित नारायण राजवंशी, प्रतिश जिसी र विनोद भण्डारीले छनोट प्रतियोगिताका कुनै पनि खेल खेल्न पाएका थिएनन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले सेमिफाइनल खेले पनि उनले बलिङ र ब्याटिङ दुवै गरेनन् । क्याच र रनआउट पनि नगरेका उनले व्यक्तिगत विधाको पुरस्कार पाएका छैनन् । दामासाहीले मिल्ने ९० हजार रूपैयाँमा नै उनले चित्त बुझाउनुपर्ने भएको छ ।

राष्ट्रिय टीमका म्यानेजर सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही, भिडिओ एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने, स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच अब्दुल सतार, कन्सल्टेन्ट कोच नन्दन हन्मन्त फडनिसले पनि दामासायीले ९० हजार पाउनेछन् । टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नगद पुरस्कार दिइएको छैन । उनलाई समारोहमा टोकन अफ लभ प्रदान गरियो । अर्नाले प्रशिक्षक देसाईलाई छुट्टै कार्यक्रम राखेर विशेष सम्मान गरिने जनाएको छ ।

अर्नाले प्रतियोगिताअघि खेलाडीहरूलाई उनीहरूको प्रदर्शनका आधारमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । ब्याट्सम्यानलाई प्रत्येक रनका लागि एक हजार, चौकाका लागि १० हजार (अतिरिक्त) र छक्काका लागि २० हजार (अतिरिक्त) दिने भनिएको थियो । यस्तै, बलरलाई प्रत्येक डट बलका लागि एक हजार, मेडन ओभरका लागि १० हजार, विकेटका लागि २५ हजार नगद दिने अर्नाले घोषणा गरेको थियो । दोस्रो म्याचमा पुरस्कारको विधा थप्दै रनआउट र क्याच गर्नेलाई २५ हजार दिने घोषणा गरियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖